सरकारले उडान रद्द गर्‍यो, युएईमै प्राण त्यागे रामसजीवनले

  भदौ १६, २०७७

निर्मला घिमिरे
काठमाडौं, भदौ १६

अस्पतालको शय्यामा तारले जेलिएर पल्टिएको एउटा शरीर । अन्तिम सास फेर्न देश फर्कने चाहनाले बढाएको छटपटाहट। आँखाभरि घरपरिवार, छोराछोरीको तस्बिर ।

‘मलाई धेरै रहर छ घर जान । छोराछोरी साना–साना छन्। बाउ-बाउ भनेर बोलाइराख्छन्,’ मुस्किलले निकालिएको आवाजसहितको एउटा भिडियो केही समयदेखि सामाजिक सञ्जालमा आइरहेको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित एक अस्पतालको शय्यामा मुस्किलले सास फेरिरहेका रुपन्देहीका रामसजीवन केवत स्वदेश फर्कन हारगुहार गरिरहेका थिए उक्त भिडियोमार्फत् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान् ठप्प थिए। सरकारले चार्टर उडानमार्फत् विदेशमा रोजगारी गुमाएका, कोरोना बाहेकका अन्य बिरामीलगायत नेपालीलाई स्वदेश फर्काइरहेको थियो । तर रामसजीवनले धेरै पहिलादेखि स्वदेश फर्कने चाहना राख्दा पनि टिकट पाएका थिएनन् ।

‘भाइलाई धेरै अगाडिदेखि फर्काउन खोजेको । टिकट पनि कम्पनीले काटिदिने भनेको थियो। धेरै प्रयास गर्दा टिकट मिलेन । बल्लबल्ल टिकट मिलेको टिकट। आउन पाएन। हिजो युएईमै मृत्यु भयो,’ रामसजीवनका दाइ राम शाहले सुनाए ।

यसअघि १७ अगस्टमा युएईमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कनका लागि नेपाल एयरलाइन्सको उडान तय भएको थियो । सोही उडानमार्फत् स्वदेश फर्कन रामसजीवन ठिक्क परेका थिए । तर सरकारले अचानक उडान रद्द गर्‍यो। रामसजीवनलगायत यात्रु छाडेर जहाज रित्तै फर्कियो ।

जहाज रित्तै फर्किएपछि पनि अझै रामसजीवनको स्वदेश फर्कने चाहना मरेको थिएन। फेरि ३१ अगस्टको टिकट मिल्यो । ३१ तारिखमा घर फर्कँदैछु भनेर रामसजीवनले परिवारमा समेत खबर गरेका थिए ।

रामसजीवनका दाइ भन्छन्, ‘टिकट मिल्यो अब भाइ आउँछ भनेर खुसी लागेको थियो । तर फेरि अवस्था नाजुक हुँदै गएकोे खबर आयो । जुन दिन आउने भनेको थियो, त्यहीँ दिन भाइको मृत्यु भयो ।’ झण्डै २ वर्ष अगाडि रोजगारीको खोजीमा युएई पुगेका रामसजीवन ४ महिनादेखि क्यान्सरले अस्पतालमा थलिएका थिए ।

‘भाइ युएई गएको ठ्याक्कै मिति त थाहा छैन । तर गएको दुई वर्ष भएको छैन। सुरुमा त प्यारालाइसिस् भएको भनेर सुनाइएको थियो,’ रामसजीवनका दाइ राम शाहले नेपाल लाईभसँग भने । ३६ वर्षिय रामसजीवनका ४ छोरी र २ जना छोरा छन् । श्रीमती घरको काम गर्छिन्। परिवार उनकै भरमा थियो । यो भन्दा अगाडि पनि उनले वैदेशिक रोजगारीमा गएर नै घर खर्च धान्दै आएका थिए ।

‘पहिले त कतार गएको थियो। कतारमा दुई पटक आउने–जाने गर्‍यो, ३ वर्षजति कतार बसेपछि युएई गएको थियो,’ उनका दाइले भने । कतारमा भन्दा युएईमा कमाई राम्रो हुने भन्दै रामसजीवन युएई हिँडेका थिए । कमाई ठीकै भएको बताउँथे । बेलाबेला पैसा पठाइरहेकै थिए। तर अचानक बिरामी परेदेखि उनीसँग परिवारले पैसाभन्दा पनि निको भएर फर्किए हुन्थ्यो भन्ने आशा राखेको थियो ।

उपचारपछि निको हुने छाँटकाँट नदेखिएपछि रामसजीवनले स्वदेश फर्किएर अन्तिम सास फेर्ने इच्छा राखेका थिए । मर्नुभन्दा अगाडि देशको माटो टेकेर परिवार, छोराछोरीको साथ अन्तिम सास फेर्ने सपना थियो उनको। तर सरकारले कहिले चार्टर उडान खुल्ला गर्ने त कहिले बन्द गर्ने गरिरहँदा स्वदेश फर्कन पाएनन् रामसजीवन ।

घरपरिवार र छोराछोरी सम्झँदै छटपटाइरहे। अन्ततः उनले युएईमै प्राण त्याग गरे । ‘अब शव ल्याउन पहल गर्नुपर्ने छ। दूतावासले जहाज आउँदा शव पठाइदिन्छौँ भनेको छ,’ रामसजीवनका दाइले भने । अब कहिल्यै नउठ्ने गरेर रामसजीवन बाकसमा फर्कनेछन् । (स्रोत : नेपाललाइभ)

तपाईको प्रतिक्रिया