काठमाडौं, भदौ १७ : काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञा आज राती १२ बजेबाट सकिदै छ । अबको निषेधाज्ञा कस्तो हुने बारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज साँझ बस्दैछ । साँझ बैठक बस्नु पूर्व सुरक्षा निकायसँग छलफल र परामर्श जिल्ला प्रशासन कार्यालयले लिन सुरु गरिसकेको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयको निर्देशन समेत कुरेर बसेका छन् । गृहमन्त्रालयले कस्तो निर्देशन दिनुहुन्छ त्यही आधारमा छलफल गर्छौ आज साँझ निषेधाज्ञा थप्ने वा के गर्ने बारेमा बैठक बस्ने भक्तपुर प्रजिअ हुमकला पाण्डेले जानकारी दिनुभयो । आज साँझ बैठक कहाँ बस्ने भन्ने निश्चित भने भैनसकेको उहाँले बताउनुभयो ।
निषेधाज्ञाको बारेमा गृहमन्त्रालयबाट निर्देशन आएसँगै सोही आधारमा अब के गर्ने भन्ने बारेमा थप निर्णय लिने पाण्डेले जानकारी दिनुभयो । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयहरुले निर्णय गरेर मन्त्रालयमा जानकारी गराउने बताउनुभयो । उहाँले आवश्यकताको आधारमा सुझाव दिन सकिने भए पनि निषेधाज्ञा गर्ने अधिकार उहाँहरुसँग भएकाले उहाँहरुले आज निर्णय गर्ने बताएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।






