हेटौँडा, भदौ १६ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु हुने क्रम बढ्दो छ ।
यो प्रदेशमा कोरोना सङ्क्रमण पुरुषको तुलनामा महिलामा कम देखिएकाले सङ्क्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको देखिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअनुसार कोभिड–१९ सङ्क्रमित हुनेमा लिङ्गअनुसार बढी सङ्ख्या पुरुष छन् ।
मन्त्रालयले आइतबार साँझसम्ममा प्रदेशका कुल कोरोना सङ्क्रमितमध्ये ३३.२ प्रतिशत महिला र ६६.८ प्रतिशत पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको छ । आइतबार साँझसम्ममा प्रदेशका १३ जिल्लामा गरी सात हजार ४६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार पछिल्लो समय पुरुष बढी सङ्ख्यामा विदेशबाट आएका, घरबाहिर महिलाको अनुपातमा पुरुष नै बढी हिँडडुल गर्ने भएकोले र धार्मिक एवं सांस्कृतिक व्यवहारले पुरुषमा सङ्क्रमण बढी देखिएको हो । कतिपय रोग महिलामा कम लाग्नुमा महिलामा रोग प्रतिरोधी क्षमता बढी हुने भन्दै उहाँले भन्नुभयो, पुरुषको अनुपातमा महिलाको मृत्यु दरसमेत कम रहेको छ ।
एक महिनाअघि गत साउन १५ गते बागमती प्रदेशमा कुल सङ्क्रमित एक हजार ६६ जना रहेकोमा २८.७ प्रतिशत महिला र ७१.३ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको थियो । प्रवक्ता सेढाईंले कोरोना सङ्क्रमण पछिल्लो समय समुदायस्तरमा पुगेकाले महिलामा कोरोना सङ्क्रमण दर बढ्ने जोखिम बढेको बताउनुभयो ।
स्वयंसेविकाको कोरोना बीमा गरिने
काभ्रे समाचारदाताका अनुसार, जिल्लाको नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बीमा गरिदिने भएको छ । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले कार्यपालिकाको आइतबार बसेको बैठकले नगरपालिकाबाट अपाङ्गता परिचय–पत्र वितरण गरेकामध्ये रातो र नीलो परिचय–पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बीमा गर्ने निर्णय गरेकोे बताउनुभयो ।
पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण अपाङ्गता भएका व्यक्ति बढी प्रभावित हुने देखिएकाले नगरपालिकाबाट उहाँहरूको कोरोना बीमा गर्ने निर्णय गरिएको तिमल्सिनाले बताउनुभयो । नमोबुद्ध नगरपालिकामा रातो अपाङ्गता परिचय–पत्र पाउने ९० र नीलो परिचय–पत्र पाउने १४५ जना रहेका छन् । त्यस्तै गरी, नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।
बैठकले नमोबुद्ध नगरपालिकाले नगर र वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले सोमबारबाट यही भदौ २२ गते सोमबारसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो । नमोबुद्ध नगरपालिकामा हालसम्म छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
छ जना प्रहरीमा सङ्क्रमण
सिन्धुली समाचारदाताका अनुसार, जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत छ जना प्रहरी जवानमा कोरोना सङ्क्रमण भएको छ । कार्यालयमा कार्यरत आठ जना प्रहरी र हिरासतमा राखिएका पाँच जना थुनुवा गरी १३ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न धुलिखेल पठाइएकोमा छ जना प्रहरीमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना पुष्टि भएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा रहेको क्वारेन्टाइनमा राखेर उपचार गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सङ्क्रमित प्रहरीहरू २ नम्बर प्रदेशबाट तालिम सकेर भर्खरै आएका हुन् । आउनेबित्तिकै शङ्का लागेर उनीहरूलाई क्वारेन्टाइनमा राखेका थियौँ ।
त्यस्तै, दुधौली नगरपालिकामा थप एक जनामा कोरोना सङ्क्रमण भएको छ । दुधौली नगरपालिकाले २७ जनाको स्वाब सङ्कलन गरी भदौ १२ गते परीक्षण गर्न हेटौँडा पठाएकामध्ये वडा नम्बर–१२ का २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको दुधौली नगरपालिका स्वास्थ्य शाखा संयोजक जगदीश मण्डलले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति कुवेतबाट आई दुधौलीमा क्वारेन्टाइनमा बस्दै आएको उहाँको भनाइ छ । सिन्धुलीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६० जना पुगेको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताउनुभयो ।
निषेधाज्ञा हटाइयो
हेटौँडा समाचारदाताका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा गत साउन २६ गतेदेखि जारी निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरस सङ्क्रमण बढेपछि लगाइएको निषेधाज्ञा हटाएर जनजीवन सामान्य बनाउने तयारी जिल्ला प्रशासन कार्यालय, मकवानपुरले गरेको हो ।
सोमबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाएर हरेक दिन बिहान १० बजेसम्म हेटौँडा बजार सुचारु गर्ने निर्णय गरेको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आयात गरिएका सामग्रीको लोड÷अनलोड गरिने व्यवस्था मिलाइएको छ । होटल, विद्यालय, सिनेमा हल, पार्टी प्यालेसलगायतका भीडभाड हुने प्रतिष्ठान सञ्चालनमा भने बन्देज लगाइएको मकवानपुर प्रशासनले जनाएको छ ।
३३ जना कोरोनामुक्त
रामेछाप समाचारदाताका अनुसार रामेछाप जिल्लामा कोरोना भाइरस सङ्क्रमण भएका ३७ जनामध्ये ३३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले कोरोना सङ्क्रमण भएका मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक जना कर्मचारीसहित ३३ जना कोरोनामुक्त भएको र रामेछाप नगरपालिका–५, रामपुरमा कार्यरत एक स्वास्थ्यकर्मीसहित चार जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिनुभयो ।
अहिलेसम्म रामेछाप स्थायी घर भइ जिल्लाबाहिर बस्ने ३१ जनामा कोरोना सङ्क्रमण भएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म एक हजार ७७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक तयारीसहित परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले दुई नगरपालिका र छ गाउँपालिकामा कोरोना सङ्क्रमण दर बढ्दै गएपछि भदौ १८ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
शङ्कास्पद र सङ्क्रमितको व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शय्याको क्वारेन्टाइन र ११४ शय्याको आइसोलेसन कक्ष तयार गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।






