कोरोनाबाट निको भएर फर्कने बेला मृत्यु

  भदौ १५, २०७७

कावासोती, भदौ १५ : नवलपरासी पूर्व ( नवलपुरमा ) कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने वेलामा एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ७५ वर्षीया जेष्ठ नागरिक हुनुहुन्छ । कोरोना जितेर घर फर्कने बेला भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको सोमबार मृत्यु भएको हो ।

स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा आइतबार उहाँको रिपोर्ट नेभेटिभ आएको थियो । सोमबार डिस्चार्ज हुने तयारीमा रहनुभएकी उहाँको एक्कासी पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

पुरानो मेडिकल कलेजलाई उदृत गर्दै स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले दिनुभएको जानकारी अनुसार श्वासप्रश्वास, प्रेसर र मुटु सम्बन्धी रोगको उपचार गराइ रहनुभएकी उहाँलाई कोरोनो भाइरस सङ्क्रमण देखिएपछि थप उपचार गराइ रहनुभएको थियो । निमोनियाका कारण उहाँको स्वास्थ्य अवस्था सामान्य थिएन ।

मृतक वृद्धालाई निमोनिया भएका कारण आईसीयूमै राखेर उपचार गरिएको थियो । उहाँको रेखदेख बहिनीले गरिरहनुभएको थियो । तर, पछि बहिनीमा पनि कोरोना पोजेटिभ देखिपछि उहाँ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचारका लागि आउनुभयो । त्यसपछि हेरचाहका लागि उहाँको नातिनी पुग्नुभयो तर, नातिनीमा पनि कोरोना पोजेटिभ देखिएपछि केही दिन यता वृद्धाको हेरचाह गर्ने आफन्त नभएको पुरानो मेडिकल कलेजका सिईओ सुप्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार उहाँको परिवारमा पाँच जना सदस्य रहेको तर, पाँचै जनामा कोरोना पाजेटिभ आएको भन्ने खबर पाएर परिवारका सदस्यसँग बुझ्दा सबैजना आइसोलेसनमा भएकाले आउन नसक्ने बताउनुभएको थियो । घरका सदस्य कोही नभएको भन्दै मृतक वृद्धाको शव बुझ्न कोही पनि नआएको श्रेष्ठले बताउनुभयो ।

परिवारका सदस्य सबैमा कोरोना सङ्क्रमण भएकाले शव व्यवस्थापनका लागि उहाँका अन्य आफन्तसँग कुराकानी भइरहेको बिनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुबराज काफ्लले जानकारी दिनुभएको छ । मृतकका आफन्तले मृतकको पुनः स्वाब परीक्षण गर्नुपर्ने माग राखेको काफ्लेले बताउनुभयो ।

यस्तै, नवलपुरमा अहिलेसम्म ४६७ जनामा सङ्क्रमण देखिएको छ । सोमबार निधन भएकी वृद्धासहित ३४० जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंले बताउनुभयो ।
कोरोना सङ्क्रमणबाट नवलपुरमा अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने एकसय २६ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया