परीक्षणको नतिजा आउन ढिलाइ हुँदा जोखिम बढ्दो

  भदौ १४, २०७७

हेटौँडा, भदौ १४ : बागमती प्रदेशलगायत देशभर कोरोना भाइरस सङ्क्रमण फैलिनेक्रम बढ्दो छ । तर, कोरोना भाइरसका शङ्कास्पद बिरामीमा कोरानाको पहिचान र उपचारका लागि गरिने आरटी–पीसीआर परीक्षणको नतिजा ढिलो गरी प्राप्त हुने गरेको छ ।

प्रयोगशालामा स्वाबको चापका कारण परीक्षणमा ढिलाइ भएका कारण कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको समयमा स्वाबको परीक्षण गरी नतिजा दिन नसक्दा पछिल्लो समय जोखिम बढ्दै गएको हो ।

परीक्षणको रिपोर्ट दसौँ दिनमा
मकवानपुर समाचारदाताका अनुसार हेटौँडा उपमहानगरपालिका–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको आइसोलेसन कक्षमा सङ्कलन गरिएको स्वाबको नमुनाको रिपोर्ट स्वाब सङ्कलन भएको दसौँ दिनमा सार्वजनिक गरिएको छ ।

पीसीआर परीक्षण गर्न भदौ ३ गते स्वाब दिएकाले सार्वजनिक रूपमा स्वाबको नमुनाको परीक्षणको रिपोर्ट नपाएको गुनासो गरेपछि शुक्रबार दिउँसो कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट सार्वजनिक गरिएको थियो ।

भदौ ३ गतेसहित अन्य दिनमा सङ्कलन भएका स्वाबको नमुनाको रिपोर्ट नआएपछि यहाँ सार्वजनिक रूपमा चासो देखाउँदै स्वाबको खोजी गर्न थालिएको थियो । यसअघि पनि भदौ २ गते सङ्कलन गरिएको स्वाबको नमुनाको रिपोर्ट हेटौँडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले एक सातापछि सार्वजनिक गरेको थियो ।

उता प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । तर, समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न भन्दै दिएको निर्देशनको भने अवज्ञा हुँदै आएको छ ।

शाखाले भदौ ३ गते सङ्कलन भएको १५८ स्वाबको नमुनाको पीसीआर परीक्षणको प्रतिवेदन सार्वजनिक गर्दै नौ महिलासहित २९ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गरेको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले उक्त रिपोर्टमा भदौ ३ गतेअघिको समेत एक–दुई जनाको समावेश भएको बताउनुभएको छ । सङ्क्रमण पुष्टि भएकामा हेटौँडा उपमहानगरपालिका क्षेत्रका मात्र २४ जना रहेका छन् ।

एक स्वास्थ्य प्राविधिकका अनुसार भदौ ३ गतेको रिपोर्ट आउन भएकोले ढिलाइले गर्दा हेटौँडा उपमहानगर क्षेत्रमा धेरै सङ्क्रमण फैलाएको छ । रिपोर्ट आउन ढिलाइ हुँदा स्वाब सङ्कलन गराएका होम आइसोलेसनमा नबसेको र कोरोना सङ्क्रमितको खोजी एवं पहिचानमा ढिलाइ भएको थियो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढार्इं स्वाबको नमुना सङ्कलन भएको मितिअनुसार क्रमैसँग परीक्षण र रिपोर्ट सार्वजनिक गर्ने गरिएको बताउनुहुन्छ । भदौको पहिलो साता स्वाबको बढी चाप भएकोले रिपोर्ट आउन ढिलाइ भएको बताउँदै उहाँले भन्नुभयो, भदौ ३ गतेको रिपोर्ट सार्वजनिक गर्न किन ढिलाइ भएको हो, यकिनका साथ भन्नसक्ने अवस्था छैन । सेढाईंले भन्नुभयो, स्वाबको परीक्षण भइसकेर पनि रिपोर्ट सार्वजनिक गर्न ढिलाइ भएको हुनसक्छ, हामी वास्तविकताको खोजी गर्दै छौँ ।

१६ सङ्क्रमित थपिए
धादिङ समाचारदाताका अनुसार धादिङमा एकै गाउँका १० जनासहित थप १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । कन्ट्याक टेसिङको आधारमा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएकोमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका एक जना १३ वर्षका बालक, त्रिपुरासुन्दरी गाउँपालिकाका–१० जना र थाक्रेका पाँच जना रहेका छन् । योसँगै जिल्लामा कोरोना भाइरस सङ््क्रमितको सङ्ख्या २०२ पुगेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको एकै टोलका १० जनाको पोजेटिभ देखिएपछि सल्यानटारमा आवतजावतमा रोकसँगै स्वास्थ्यचौकी बन्द गरिएको छ ।

पाहुनाका कारण सन्त्रास
सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि घरमा आउने पाहुनाबाट कोरोना समुदायमा जाने हो कि भन्ने त्रास बढेको छ । कोरोना सङ्क्रमित व्यक्ति पाहुनाको रूपमा आएर बसेका व्यक्तिबाट कमलामाई नगरपालिका–७, बुद्धनगरका १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको छ ।

कमलामाई नगरपालिका–६ स्थित नीलकमल हार्डवेयरका सञ्चालक नारायण कार्कीका दाजु सिन्धुलीमा पाहुनाको रूपमा बसेर काठमाडौँ गएपछि परीक्षण गराउँदा कोरोना सङ्क्रमण पुष्टि भएसँगै हार्डवेयरमा कार्यरत कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन् ।

उता गोलन्जोर गाउँपालिका–५, विजयछापका एक व्यक्ति धनुषामा स्वाब दिएर सिन्धुली आएर परिवार र छिमेकीसँग घुलमिल गर्दा एक दर्जनभन्दा बढी मानिस अहिले होम क्वारेन्टाइनमा बस्न बाध्य छन् । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनी धनुषा जागिरमा फर्केको स्थानीय शिक्षक लेखबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उनीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिजयछाप खनियाँखर्कका २२ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएको उहाँले बताउनुभयो । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले भन्नुभयो, कोरोनामा पाहुनाप्रति सचेत हुनुपर्छ । म अरूको घरमा नगएको अहिले चार महिना भयो । अरूले पनि त्यसै गर्नुहोला ।

किशोरीको अध्ययनको जिम्मा
काभ्रे समाचारदाताका अनुसार जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणमुक्त भएकी किशोरीलाई स्नातकसम्म पढाइदिने हुनुभएको छ । बिहीबार कोरोनामुक्त भएकी किशोरीको घरमै पुगेर प्रमुख तिमल्सिनाले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

नमोबुद्ध नगरपालिका–५, की किशोरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि आफ्नै खर्चमा उनलाई स्नातकसम्म पढाउने निर्णय गरेको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो । कक्षा १२ मा अध्ययनरत किशोरीको परिवारमा छ जना रहेको र उनका पिताले सामान्य खेती किसानी गरेर परिवार चलाउँदै आएका छन् ।

कोरोना सङ्क्रमण भएका व्यक्तिलाई दुव्र्यवहार हैन हौसला प्रदान गर्नुपर्छ भन्ने सन्देश समुदायसम्म पु¥याउन आफू घरमै पुगेर सहयोग घोषणा गरेको प्रमुख तिमल्सिनाले बताउनुभयो । नगरप्रमुखले अभिभावकत्व ग्रहण गर्नुले आफ्नो अध्ययन अगाडि बढाउन हौसला मिलेको ती किशोरीले बताउनुभयो ।

निषेधाज्ञा एक साता थपियो
नारायणगढ समाचारदाताका अनुसार विगत दुई सातादेखि चितवनमा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थपिएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको भरतपुर महानगरपालिकासहित सातवटै स्थानीय तहमा निषेधाज्ञा थप गरेको हो ।

पछिल्लो पटक भदौ ५ गते जारी गरिएको निषेधाज्ञा शुक्रबार मध्यराति सकिँदै थियो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा भदौ १९ गते मध्य रातिसम्म जारी रहने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया