बेपत्ता परिवारको गुनासो सबैको हेलाँ न न्याय न सम्मान

  भदौ १४, २०७७

बर्दिया, भदौ १४ : द्वन्द्वअवधिका पीडादायक घटनाको व्यवस्थापनमा राज्यले वेवास्ता गर्दा वेपत्ता परिवारका महिलाहरू पीडित माथि पीडित बनेका छन् । तत्कालिन सशस्त्र द्वन्द्वमा आफ्ना पति गुमाएका अधिकांश महिलाहरु अहिले परिवार र समाजबाट थप पीडित बनेका हुन् ।

पति वेपत्ता भएका महिलाहरुलाई घरपरिवार तथा समाजबाट अन्तिम संस्कार (काजक्रिया) गर्न दबाब दिने र काजक्रिया नगरेकै कारण पारिवारिक र सामाजिक रुपमा एक्ल्याउने क्रम बढ्दो छ । पति वेपत्ता पारिएका महिलाहरुले न्याय पाउन सकेका त छैनन नै पारिवारिक र सामाजिक सम्बन्ध समेत बिग्रिएर एक्लिएका छन् । परिवारबाटै निरन्तर दवाब आएपनि त्यस्ता महिलाहरु पीडा मनमै लुकाएर बस्ने गरेका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ८ सुतैयाकी ४६ बर्षिया जयन्ती शाही त्यस्तै मध्येकी एक हुनुहुन्छ । उहाँले श्रीमान पर्खेको वर्षौ भैसक्यो । २०५८ साल चैत्र २४ गतेका दिन सेनाले बेपत्ता पारेको भनिएका उहाँका पति हुकुमबहादुर शाहीको अवस्था अझै अज्ञात छ । वेपत्ता आफ्ना श्रीमानको पीडा त उहाँमा छदैँछ, घरपरिवारले अन्तिम संस्कारका लागि निरन्तर दिएको दबाबले झनै पीडा थपिदिएको छ ।

जयन्तीले भन्नुभयो, ‘सरकारले दिएको राहत रकम बुझेपछि पनि काजक्रिया (मृत्यु संस्कार) किन नगरेको भन्दै आफ्नै घरपरिवारबाट बारम्बार दबाव र लाञ्छना भोग्दै आएकी छु । अब सरकारले कि मेरा श्रीमान् देखाउन पर्यो ? कि काजक्रिया गर भन्नु प¥यो ।’ वेपत्ता भएको २० बर्ष पुग्न लागेको र अब श्रीमान् ज्यूँदै फर्किन नसक्ने भन्दै घरपरिवारबाटै काजक्रियाको अन्तिम संस्कार गर्न उहाँलाई बारबार दबाब आइरहेको छ ।

वेपत्ता पतिको अन्तिम संस्कार नगरेकै कारण परिवारबाट विभेद र लाञ्छना खेप्न बाध्य जयन्ती जस्ता वेपत्ता परिवारका धेरै महिलाहरु छन् । राजापुर नगरपालिका वडा नं. ६ महुवाकी ३८ वर्षिया वेली थारुका श्रीमान फक्लु थारुलाई २०५९ साल कार्तिक ७ गते विहान स्थानीय बजार नजिकको बाटोमा हिँडिरहेको अवस्थामा नेपाली सेना सहितको सयुंक्त टोलीले वेपत्ता बनायो । श्रीमान् वेपत्ता भएदेखि वेलीका आँखा अहिलेसम्म ओभाएका छैनन् ।

श्रीमान फर्किने आशमा बसिरहनु भएको छ । तर, परिवारका सदस्यले मृत्यु संस्कारका लागि निरन्तर दबाब दिएपछि उहाँ पतिको मृत्यु संस्कारको तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सरकारले कुनै निर्णय दिएन । घरपरिवार र छरछिमेकले आपूmलाई नराम्रो दृष्टिकोणबाट हेर्ने र अवहेलना गर्छन् । आफूले नचाहेरै पनि वेपत्ता पतिको मृत्यु संस्कार गर्न बाध्य छु ।’

आफ्ना पति वेपत्ता हुँदाको पीडा एकातिर छ भने अर्का तिर आफ्नै परिवारले दिने लान्छना र दबाव सहेर बस्न बाध्य महिलाहरुले न्याय पाउन सकेका छैनन् । ठाकुरबाबा नगरपालिका वडा नं. ४ बगनाहाकी ४४ बर्षीया पानु थारुका श्रीमान् धामु चौधरी २०५८ साल चैत्र २८ गतेबाट वेपत्ता हुनुहुन्छ । घरमै सुतिरहेको अवस्थामा उहाँलाई सेनाले वेपत्ता बनाएको हो । पति वेपत्ता भएदेखि पानुको पारिवारिक र सामाजिक जीवन निकै कष्टकर बनेको छ ।

परिवार भित्रको समस्या न त बाहिर ल्याउन सकिने न त सहन नै सकिने उहाँले भन्नुभयो । वेपत्ता श्रीमान्को अवस्था अज्ञात रहेपछि अंशवण्डाका लागि मृत्यु दर्ता गर्न खोज्दा उहाँले झनै अपमानित हुनु पर्यो । ‘मृत्यु दर्ताको लागि वडा कार्यालय जाँदा जिल्ला प्रशासनको सिफारिश ल्याउ भन्छ । जिल्ला प्रशासनले सरकारबाट निर्णय भएको छैन भन्छ ।’ अब म कहाँ जाने उहाँको गुनासो छ । श्रीमान् नहुँदाको पीडा भोग्नेलाई मात्र महसुस हुन्छ । पानुले भन्नुभयो, ‘न हामीले न्याय पायौं न सम्मान । आखिर हाम्रो पीडाको मूल्य छैन ।’

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले द्वन्द्वपीडित मध्ये पनि वेपत्ताहरुको बारेमा राज्यले अझैपनि न्याय महसुस हुने गरी सम्बोधन गर्न नसकेको बताउनु भयो । शान्ति सम्झौता भएको बर्षौ बितिसक्दा पनि द्वन्द्वपीडितहरुको समस्या समाधानका लागि सरकारले कुनै ठोस कदम चाल्न नसक्नु दुखद रहेको अध्यक्ष चौधरीको भनाई छ । उहाँले भन्नुभयो, ‘सत्ता फेरियो, सरकार फेरियो तर पीडित परिवारको अवस्था भने उस्तै छ ।’

सशस्त्र द्वन्द्वको समयमा बर्दिया जिल्लाबाट सबै भन्दा बढी वेपत्ता भएका छन् । मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्था इन्सेकका अनुसार बर्दिया जिल्लाबाट २२३ जना वेपत्ता पारिएको तथ्यांक छ । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा बर्दियाबाट २६६ जना वेपत्ताको खोजीका लागि उजुरी परेको छ ।

तपाईको प्रतिक्रिया