गाईघाट, भदौ १२ : त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा मृत्यु हुनुभएका उदयपुरका शिक्षकको शुक्रबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड कमिटीका सञ्चार संयोजक माधबप्रसाद घिमिरेले त्रियुगा नगरपालिका वडा नं ४ का ५२ वर्षीय शिक्षकको मृत्युपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि गर्नुभएको हो ।
कोरोना भाइरसबाट मृत्यु भएको यो उदयपुरको पहिलो घटना हो । यद्यपि जिल्ला भित्रै वा अन्यत्र उहाँमा कोरोना सङ्क्रमण भएको भन्नेमा पुष्टि हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
सुवेदीका अनुसार उहाँको पिसीआर उदयपुरमा नगरिएकाले काठमाडौँमै यसको तथ्याङ्क रहने छ । निमोनियाको आशङ्कामा भदौ ९ गते राति ११ बजे अस्पताल पु-याए लगत्तै चिकित्सकले उहाँको मृत्यु भएको घोषणा गरेका थिए ।
गत साउन २८ गतेदेखि उहाँ विरामी भएको र ज्वरोको लक्षण देखापरेपछि भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा उपचारका लागि लगिएकोमा त्यहाँ सामान्य उपचारपछि उहाँलाई घर फर्काइएको पारिवारिक श्रोतले जनाएको छ ।
ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि र अस्पतालको औषधिले पनि ठिक नभएपछि निमोनियाको आशङ्कामा त्रियुगा नगरपालिका वडा नं ३ स्थित राजेश हेल्थकेयर सेन्टर प्राली मोतिगडामा भदौ ४ गते उहाँको स्वास्थ्य परीक्षणका लागि रगत दिएको र ६ गते भर्ना भई उपचार समेत गरेको परिवारले जनाएको छ । तीन दिनसम्म पनि उपचार गर्दा ठिक नभएपछि परिवारले भदौ ८ गते राति थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
लकडाउनकै बीचमा लिम्चुङ्गबुङ्ग गाउँपालिका १ स्थित आधारभूत प्राथामिक विद्यालय बाँस्बोटेबाट सरुवा भई आउनुभएका उहाँ साउन २७ गते त्रियुगा नपा ७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर हुनुभएको थियो । यता प्रहरीले शुक्रबार उहाँको उपचार गरिएकोे हेल्थकेयर सिल गरिसकेको छ ।






