लकडाउनमा तीनसय असहायकाे पेट भर्दै विनय

  भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथीका रुपमा विनय जंग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको छ । अधिकांश मानिसले निषेधाज्ञाका कारणले घरमै बसेर सामाजिक सञ्जालमा व्यस्त हुने गरेका छन् भने समाजसेवी बस्नेतले खाना पकाएर ठाउँठाउँमा बेवारिसे मानिसको लागि खुवाउनेमै दिन बित्ने गरेको छ ।

उहाँ विहान उज्यालो नहुँदैदेखि राति अबेरसम्म बेवारिसे मानिसहरुको लागि खटिरहनुहुन्छ । उहाँका दैनिकी एकाविहान उठेदेखि शुरु हुन्छ । उहाँको दैनिकी बेवारिसे असहाय मानिसको लागि सहयोग गर्नु र सडकमा बेवारिसे भएर ज्यान गुमाएका मानिसको शव व्यवस्थापन गरेर बित्छ । बेवारिसे लासको दाहसंस्कारको काम सँगै असहाय मानिसको लागि खाना खुवाउन र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न मास्क वितरणमा उहाँ प्रायः व्यस्त हुने गरेको उहाँले बताउनुभयो ।

साथीभाई र सहयोगी हातहरुका कारणले खाद्यान्न, तरकारी, तेल , नुनलगायतको सामान सहयोगको रुपमा आउने गरेकाले अहिले केही सहज भएको उहाँले बताउनुभयो ।
उहाँले घरमै खाना बनाएर पशुपति र बालकुमारीलगायत विभिन्न ठाउँमा रहेका व्यक्तिलाई खाना पु¥याउने गर्नुहुन्छ । साथै, चितवनमा उहाँको सहयोगीहरुले पनि निषेधाज्ञामा परी खाना नपाएकाहरुको लागि खाना खुवाउँदै आएका छन् ।

अघिल्लो लकडाउनमा जस्तै अहिले पनि दैनिक तीन सयजना असहाय व्यक्तिलाई खाना खुवाएको उहाँ बताउनुहुन्छ । यस्ता बेवारिसे मानिसको लागि सरकारले सहयोग गर्ने कार्यक्रमहरु रहे पनि पुग्दो नभएको समाज सेवी विनय बताउनुहुुन्छ ।

आगामी दिनमा सडकमा बेवारिसे मानिस हुन नदिने गरी सरकारले काम गर्न जरुरी रहेको उहाँले गोरखापत्रलाई बताउनुभयो । उहाँले अहिलेसम्म दुईसय ८० वटा बेवारिसे लासको दाहसस्ंकार गरिसक्नुभयो । केही लास व्यवस्थापन गर्न कागजी प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया