परीक्षणसँगै कोरोना सङ्क्रमित पनि बढ्दै

  भदौ १२, २०७७

पोखरा, भदौ १२ :  गण्डकी प्रदेशमा कोरोना परीक्षणसंँगै  सङ्क्रमित हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । गण्डकी प्रदेशभित्र  २०७६ चैत १५ गते बागलुङमा पहिलो सङ्क्रमित देखिएको थियो । जेठ १३ गतेसम्म चार जना मात्र सङ्क्रमण देखिएकोमा त्यसपछि नियमित रूपमा सङ्क्रमित बढ्दै जान थालेका छन् ।

जेठ दोस्रो साता भारत सरकारले रेल सेवा सञ्चालन गरेपछि बन्दाबन्दीका बीच नेपाल–भारत सीमामा रोकिएका नेपाली भित्रिन थालेपछि सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको थियो ।

अहिलेसम्म गण्डकी प्रदेशमा ४२ हजार ९९७ जनाको स्वाब परीक्षण गरिएकोमा तीमध्ये १६ हजार ७५० जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेका र अन्य सङ्क्रमितको सम्पर्कका  तथा समुदायस्तरका व्यक्ति रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, लमजुङ जिल्लामा सङ्क्रमितको सम्पर्कमा आएकामा सङ्क्रमण पुष्टि हुन थालेको निर्देशनालयले जनाएको छ ।

सङ्क्रमणबाट महिलाको मृत्यु
कास्की समाचारदाताका अनुसार कोरोना सङ्क्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ की ३२ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह–प्रा.डा. अर्जुन आचार्यले जानकारी  दिनुभयो ।  

अन्य कुनै दीघरोग नभएकी उक्त महिला बिरामी भएपछि पोखराका अन्य अस्पतालमा उपचार गर्दा निको नभएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्नुभएको थियो । भदौ ७ गते अस्पताल भर्ना भएकी महिलालाई आईसीयूमा राखेर उपचार गरिएको अवस्थामै मृत्यु भएको अस्पतालले जनाएको छ । महिलाको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

समुदायस्तरमा सङ्क्रमण
नवलपरासी समाचारदाताका अनुसार पूर्वी नवलपरासीमा एक पत्रकारसहित १६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  नवलपरासीमा समुदायस्तरमा कोरोनाको सङ्क्रमण रहे नरहेको पत्ता लगाउन गरिएको परीक्षणका क्रममा तीन जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।

जिल्लाबाट सङ्कलन गरिएको स्वाबको पोखरा तथा चितवनमा परीक्षण गरिएको थियो ।  पछिल्लो समय सङ्क्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट टे«सिङ गर्दा सङ्क्रमण पुष्टि हुन थालेपछि समुदायस्तरको परीक्षण गरिएको थियो ।

समुदायमै फैलियो कोरोना
लमजुङ समाचारदाताका अनुसार लमजुङमा सङ्क्रमितको सङ्ख्या १४३ पुगेको छ ।  बिहीबार एक स्वास्थ्यकर्मी, एक कर्मचारी र दुई जना नेपाली सेनामा कोरोना पुष्टि भएको थियो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण भए नभएकोबारे जानकारी लिन नमुना थ्रोट स्वाब सङ्कलन गरिएकोमा कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो ।

यसअगाडि क्वारेन्टाइनमा बस्नेहरूमा मात्र पोजेटिभ देखिए पनि पछिल्लो समय समुदायस्तरमै कोरोना देखिन थालेको छ । समुदायमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले उच्च सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।  

सङ्क्रमित थपिँदै
गल्कोट समाचारदाताका अनुसार बागलुङमा भदौ महिनाको सुरुवातसँगै समुदायस्तरबाट दैनिक कोरोना सङ्क्रमित थपिन थालेका छन् ।  भारतलगायत अन्य मुलुकबाट आएर क्वारेन्टाइनमा रहेकाभन्दा पनि ‘ट्राभल हिस्ट्री’ नभएका स्थानीयवासीलाई सङ्क्रमण पुष्टि भएको हो । बिहीबार मात्र जिल्लामा एक बालिकासहित आठ जनामा सङ्क्रमण पहिचान भएको छ ।

निषेधाज्ञा लम्बियो
स्याङ्जा समाचारदाताका अनुसार कोरोना सङ्क्रमण समुदायका देखिएप्छि गरिएको निषेधाज्ञा यहाँ एक हप्ता थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ १८ गते राति १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमणको दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की लगायतका जिल्लामा सङ्क्रमण उच्च रहेकाले सतर्कताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको बताइएको छ ।  

निषेधाज्ञाको अवधिमा अत्यवश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द रहने प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले सार्वजनिक तथा निजी सवारी पूर्ण रूपमा बन्द रहनेछन् भने सरकारी तथा अति आवश्यक सेवाका कर्मचारी आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको बताउनुभयो ।

एम्बुलेन्स, शव वाहन, खाद्य सामग्री, औषधि, दाना, पानी, दूध, इन्धन बोक्ने सवारी साधन, कूटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

त्यस्तै कर्मचारीको सवारी बिहान ९ देखि १० र बेलुका ४ देखि ५ बजेसम्म सञ्चालन भएका छन् ।
सार्वजनिक सेवाहरू स्थानीय प्रशासन, स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, आपूर्ति खुला भएका छन् ।  यस्तै बैङ्क वित्तीय संस्थाहरू खुला भएका छन् भने खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म खुला रहने भएका छन् ।

यस्ता सेवा तथा कार्य जनस्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने गराउने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, होटल तथा रेस्टुराँ टेक अवे सेवा मात्रै उपलब्ध गराउने निर्णय भएको छ ।

उद्योग कलकारखानाका लागि तत्काल अन्यत्रबाट कामदार नल्याउने, ल्याउनैपर्ने भएमा सम्बन्धित पालिकाको समन्वयमा पीसीआर रिर्पोट नेगेटिभ भएका कामदार मात्र ल्याउने, सरकारी, गैह्रसरकारी तथा निजी क्षेत्रबाट दिइने सेवा न्यूनतम कर्मचारीबाट दिने, सम्भव भएमा अत्यधिक प्रविधिको प्रयोग गर्ने गराउने निर्णय गरिएको प्रजिअ क्षेत्रीले बताउनुभयो ।  

तपाईको प्रतिक्रिया