काठमाडौं, भदौ १० : काठमाडौं उपत्यकामा मंगलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौंमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन् । पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या तीन गुणाले वृद्धि भएको छ । जसमध्ये अधिकांशमा सङ्क्रमण सक्रिय अवस्थामा छन् ।
जनस्वास्थ्यविद्हरु सङ्क्रमण तेस्रो चरणमा गएको संकेत देखिन थालेकोले ‘कन्ट्याक्ट ट्रेसिङ’लाई प्रभाबकारी नबनाइए अवस्था भयावह हुने बताउँछन् । सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले सूक्ष्म व्यवस्थापन गरेर ‘कन्ट्याक्ट टे«सिङ’ गर्न लागिएको बताउनुहुन्छ ।
उपत्यकामा दैनिक दुई सयभन्दा बढी सङ्क्रमित थपिदैछन् । एकजना सङ्क्रमितले नेपालमै १२० जनासम्मलाई सङ्क्रमण सारेको उदाहरण छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एक सङ्क्रमितले औसतमा १२ जनालाई सङ्क्रमित बनाएका छन् ।
यसरी दुई सय सङ्क्रमित थपिदा कम्तिमा दैनिक छ सय जना क्वारेन्टिनमा बसेर स्वाब परीक्षण गराउनुपर्ने आवश्यक देखिन्छ । तर सङ्क्रमितको सम्पर्कमा आउने सम्भाबित व्यक्ति क्वारेन्टिनमा बस्ने कता हो कता लुकेर बस्दा काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण भुसको आगो सरह फैल्ने जोखिम बढेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल बताउनुहुन्छ ।
जनस्वास्थ्यविद् डा. शरद् वन्त भन्नुहुन्छ, “लकडाउन कोभिड–१९ विरुद्ध लड्ने मौका थियो, धेरै तयारी गर्नुपर्ने थियो, तयारी गर्न नसक्नुको असर बिस्तारै देखिदैछ ।” लकडाउन खुल्नुअघि विदेशबाट आएर क्वारेन्टिन र आइसोलेशमा बस्ने अधिकांशमा सङ्क्रमण पाइएको थियो । तर अहिले अवस्था फेरिएको छ ।
“तेस्रो चरणको संकेत देखिन थालेको छ ।” बताउनुहुँदै जनस्वास्थ्यविद् डा. वन्त थप्नुहुन्छ, “स्रोत समुदाय हुन गएकोले रणनीति त्यसै बमोजिम बनाइनुपर्छ र प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।” समुदायमा सङ्क्रमण गएको लक्षण देखिएकोले कन्ट्याक्ट ट्र्ेसिङ युद्धस्तरमा गर्नुपर्ने उहाँको सुझाब छ ।
सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा नौ हजार जना सङ्क्रमितको सम्पर्कमा आएका ट्र्ेस भएको जानकारी दिनुभयो । जसको एक तिहाइ मात्रै पहिचान भएको र थोरै मात्रै क्वारेन्टिनमा बसेको महानगरपालिकाका प्रवक्ता डंगोल बताउनुहुन्छ ।
काठमाडौं उपत्यकाको तीन जिल्लामा १८ वटा स्थानीय तह छन् ।
मन्त्रालयको निर्देशिका बमोजिम महानगरले पाँच र उपमहानगरले तीन र नगरले दुई वटा टोलि कन्टयाक्ट ट्रेसिङको लागि खटाएको छ । ५० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एक सय जनाको टोलि खटाएर सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी कोभिड–१९ नियन्त्रणमा लिन नसकिने डा.वन्त तर्क गर्नुहुन्छ ।
काठमाडौं महानगरपालिकाले कन्टयाक्ट ट्रेसिङमा दश जनाको एउटा समूह बनाएको छ । त्यस्ता पाँच वटा समूह गठन गरिएको छ । काठमाडौंमा ३२ र ललितपुर महानगरमा २९ वडा छन् । महानगरका प्रवक्ता डंगोलले एकैपटक सबै वडामा नभई दिन बिराएर सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति खोज्न समूह परिचालन गरिएको बताउनुहुन्छ । मंगलबार काठमाडौंको वडा नं १५ र २६ मा कन्टयाक्ट ट्रेसिङ समूह परिचालन गरिएको थियो । काठमाडौं महानगरमा सबैभन्दा बढी वडा नं ३२ कोटेश्वर र वडा नं ३ महाराजगञ्ज सङ्क्रमणको हटस्पटको रुपमा पहिचान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार साउन २६ गते काठमाडौं उपत्यकामा कुल एक हजार १८० जना सङ्क्रमित पुष्टि भएका थिए । तर १५्र दिनमा उक्त संख्या तीन हजार ७०३ पुगेको छ । असार १२ गते काठमाडौं उपत्यकामा कुल सङ्क्रमित ८७ जना थिए । सरकारी कार्यालय खुल्न साथ काठमाडौं आउनेको चाप बढ्यो । डा. वन्त भन्नुहुन्छ, “चहलपहल बढेपछि सङ्क्रमण बढ्दै गयो, साउन ६ गते लकडाउन खोलियो, अझै निर्वाद रुपले बजार पनि सञ्चालनमा आयो, परिणाम देखिदैछ ।”
बैशाख र जेठ महिनामा बाहिरबाट आउनेले मात्रै सङ्क्रमण लिएर आएको अवस्थामा क्वारेन्टिन र आइसोलेशनमा बस्नैपर्ने व्यवस्थाले सङ्क्रमण नियन्त्रित देखिएको थियो । “तर वैकल्पिक ब्यवस्था नहुँदै पठनपाठनका लागि क्वारेन्टिन रहेको विद्यालय खाली गर्नुपर्ने निर्णय र त्यसको कार्यान्वयनले स्थानीय तहलाई समेत आलटाल गर्न लगायो र सङ्क्रमित समाजमा घुलमिल हुन पुग्यो ।” लकडाउन खुकुलो भएपछि काठमाडौंमा सङ्क्रमणको ग्राफ बढेको मन्त्रालयकै दैनिक अद्यावधिक विवरणले प्रष्ट्याउँछ ।
विगत्को कमजोरीलाई सुधार्न उपत्यकाभित्रका स्थानीय तहलाई व्यवस्थापकीय प्रशिक्षण, प्राबिधिक सहयोग, दक्ष जनशक्ति र आर्थिक सहयोग गरेर अगाडि बढ्नुपर्ने डा. वन्त थप्नुहुन्छ । अन्य भेगको हकमा दक्ष जनशक्ति र स्रोत साधनको लागि प्रदेश र स्थानीय तहले समन्वय गर्नुपर्ने उहाँले सुझाब दिनुभयो ।
महाशाखा प्रमुख डा. पाण्डेले स्थानीय तह लाई थप जिम्मेवार बनाउन ‘डेडिकेटेड’ बजेट उपलब्ध गराएर ‘टे«सिङ’को काम प्रभाबकारी बनाउन लागेको बताउनुभयो । काठमाडौं उपत्यकाका तह निकायसँगै ७५३ वटै स्थानीय तहलाई उक्त बजेट गएको उहाँले जानकारी दिनुभयो ।
तर अधिकारीहरु भने नागरिक आफैं सचेत नभएसम्म अहिलेको सङ्क्रमणलाई नियन्त्रणमा लिन कठीन हुने बताउँछन् । महानगरका प्रवक्ता डंगोलले महानगरले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्दागर्दै नागरिकले आफू सङ्क्रमितको सम्पर्कमा आएको खुलेर जानकारी नगराउँदा अवस्था बिग्रिदै गएको गुनासो गर्नुहुन्छ ।
मन्त्रालयले प्रत्येक निजी अस्पताललाई कोभिड–१९ का बिरामीका लागि बीस प्रतिशत शैयाको व्यवस्था गर्न सार्वजनिक अपील नै गरेको छ । निजी स्वास्थ्य संस्था भने तयार देखिन्न । “कोभिड सङ्क्रमितका लागि डेडिकेटेड अस्पताल छुट्याएर जाऔं, नभए स्वास्थ्यकर्मी पनि अहिलेकै जसरी सङ्क्रमित हुन थाले उपचार गर्ने जनशक्ति पाउन मुश्किल हुन्छ ।”– डा. वन्त मन्त्रालयको निर्णयमा विमति राख्नुहुन्छ ।
कोभिडको सङ्क्रमण नियन्त्रणका लागि अन्य देश जसरी नागरिक तथा स्वयंसेवी संस्था परिचालन गरिएको छैन् । सङ्क्रमित निको हुने दर घट्दो छ । सङ्क्रमण दर बढेको छ । पीसीआर परीक्षण पनि सङ्क्रमण दरको आधारमा नभएको गुनासो सुनिएको छ । डा. वन्तले परीक्षणका लागि परीक्षण गर्ने नभई आवश्यकताको आधारमा परीक्षण हुनुपर्ने तर्क गर्नुहुन्छ । कन्ट्याक्ट ट्र्ेसिङमा पहिचान भएकाको संख्या जत्तिसुकै भएपछि परीक्षण गरेर अलग्याउँदै अगाडि बढे सङ्क्रमण दरलाई केही हदसम्म कम गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।






