होटल क्वारेन्टाइनको मापदण्ड निर्धारण

  भदौ १०, २०७७

काठमाडौँ, भदौ १० : विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किने नागरिकका लागि व्यवस्था गरिएका होटल ‘क्वारेन्टाइन’ सम्बन्धी मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सबै होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्था गर्न नसकिने जनाउँदै त्यसका लागि न्यूनतम मापदण्ड तोकेको हो ।

स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी कम्तीमा २० कोठा भएको हुनुपर्ने छ । त्यस्तै होटल परिसरमा छुट्टै गेट वा कम्पाउन्ड भएको, घुमफिर गर्न सक्ने बगैँचा वा खुला स्थान हुनुपर्ने छ । होटल क्वारेन्टाइनमा बसेकाहरूलाई खाना, खाजा र पानी लगायतका सुविधा, स्वाब सङ्कलनका लागि होटल परिसरमा खुला स्थान अनिवार्य हुनुपर्ने छ ।

होटलमा बाथरुम सहितको कोठा, इन्टरनेट, टीभी, नुहाउन २४सैँ घण्टा तातोपानी, कोठा तथा प्यासेजमा मात्र खाना, नास्ता लगायतका सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था, हात धुन साबुनपानी, सेनिटाइजर अनिवार्य गरिएको प्रशासकीय अधिकृत रमा घिमिरेले बताउनुभयो । टाबेल, टुथपेस्ट, साबुन, स्याम्पु, ब्रस कम्तीमा हप्ता दिनसम्म पुग्ने गरी कोठाभित्र नै व्यवस्था गर्नुपर्ने छ । होटलमा रहेका जिम तथा शारीरिक व्यायाम, साउनालगायत भीडभाड हुने कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन ।

होटल क्वारेन्टाइनमा सात दिन बस्ने नागरिकका लागि होटल एसोसिएसन नेपाल (हान) र होटल व्यवसायी महासङ्घले निर्धारण गरेको सात रात आठ दिनको प्याकेजअनुसार दुई जना बस्ने कोठाका लागि प्रतिव्यक्ति ११ हजार (एकमुष्ट २२ हजार) र एक जना बस्ने कोठाका लागि एकमुष्ट १७ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने हुन्छ । यो शुल्कमा होटलले नै विमानस्थलदेखि होल्डिङ सेन्टर एवं होटलसम्म पिकअपको खर्चसमेत समावेश गरिएको छ ।

उद्धार उडानबाट आएका नागरिकले सामान्यदेखि तारे होटलसम्म ‘सिङ्गल वा डबल रुम’ बुकिङको हरियो, निलो र बैजनी रङको भौचर अनिवार्य साथमा बोक्नुपर्ने छ । काठमाडौँ उपत्यकाका करिब डेढ सय होटललाई क्वारेन्टाइनका रूपमा रूपान्तरण गरिएको छ । तीन तारे वा सोभन्दा माथिल्लो स्तरका होटलमा बस्नेहरूका लागि नेपाल होटल सङ्घ र होटल व्यवसायी महासङ्घले विमानस्थलदेखि होटलसम्म पु¥याउन आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया