स्वाब दिएको ढिलाे गरी १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण

  भदौ ०९, २०७७

सर्लाही, भदौ ९ : सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ ।

गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । त्यसमध्ये मङ्गलवार ७९ जनाको रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण पाइएको गोडैता नगरपालिका, स्वास्थ्य शाखा उप–संयोजक प्रमोद पण्डितले जानकारी दिनुभयो । सङ्क्रमितहरुमा अधिकांश सर्वसाधारण रहेका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय, मलङ्गवाबाट ल्याएर स्वाब सङ्कलन गरिएका छ जना थुनुवामा पनि कोरोना सङ्क्रमण पाइएको छ । स्वास्थ्य उप–संयोजक पण्डितका अनुसार ४०२ जनाको स्वाब पठाइएकोमध्ये आइतबारदेखि रिपोर्ट आउन सुरु भएको हो । स्वाब पठाएको १३ औँ दिनसम्म ३८७ जनाको रिपोर्ट आएको छ । जसमा ६९ जनामा सङ्क्रमण पाइएको छ ।

अझै १५ जनाको रिपोर्ट आउन बाँकी रहेको पण्डितले बताउनुभयो । अहिलेसम्म सङ्क्रमण पुष्टि भएकामध्ये नौ जनालाई सदरमुकाम मलङ्गवास्थित नर्सिङ कलेजको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको छ भने अन्य सबै सङ्क्रमित आ–आफ्नो घरमै बसिरहेका गोडैता नगरपालिकाका, प्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

घरमै बस्दा जोखिम हुने भएकाले सङ्क्रमितहरुलाई सदरमुकाम लाने प्रयास गरेपनि ९ जना बाहेक अन्यले मलङ्गवाको आइसोलेसनमा जान अस्वीकार गरेका नगर प्रमुख यादवको भनाई छ । उहाँले दुई हप्तापछि बल्ल रिपोर्ट आउँदा स्वाब दिएकाहरु गाउँघरमा खुलेयाम हिँडेको पाइएकाले थप व्यक्तिहरुमा पनि सङ्क्रमण सारेको हुन सक्ने बताउनुभयो ।

नगर प्रमुख यादवले बुधबार पुनः वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैताको प्राङ्गणमा थप व्यक्तिहरुको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया