ओखलढुंगा, भदौ ९ : मलेसियाको सुवाङ पार्कमा अलपत्र ओखलढुङ्गाकी पिन्तुमाको उद्धारमा कठिनाई भएको छ । पिन्तुमाको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै कागजी प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएका कारण उनको उद्धारमा कठिनाई भएको हाे ।
मानसिक सन्तुलन गुमाएकी मोलुङ गाउँपालिका ८, राँगादिपकी उनी मलेसियाको सडकमा वर्षौंदेखि अलपत्र परेका कारण ओखलढुङ्गा एकता सेवा समाज मलेसियाले उनलाई नेपाल पठाउन खोजे पनि उनको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएको मलेसियाबाट हीराबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँको साथमा अन्दाजी सातवर्षको छोरा पनि रहेको छ । मलेसियामा कार्यरत जिल्लावासीहरुले उहाँलाई उद्दार गरि नेपाल पठाउन खोजे पनि नसकेको थापाको भनाई छ । पना राई नाम बताउने उहाँको अवस्था एकदमै दयनीय रहेको जानकारी दिंदै महिलाको उद्दारमा नेपालबाट नेपाल सरकारले सहयोग गर्नुपर्ने थापाले बताउनुभयो । कागजी प्रक्रियाका लागि नेपाल सरकारले सहयोग गरे यहाँबाट उहाँलाई पठाउन हामीले बाँकी बन्दोबस्त गर्ने उहाँको भनाई छ ।
आमा बच्चा अहिले मलेसियाको क्वालालम्पुरस्थित सुवाङ पार्कको छाप्रोमा ६ महिनादेखि बस्दै आएको बताइएको छ । दुवै जनाको कानूनी हैसियत नभएका कारण उहाँलाई नेपाल पठाउन सकिएको छैन । मलेसियाको लागि नेपाली राजदूताबासका अनुसार लकडाउन अघि नै दूतावासले दिएको आश्रयस्थल छोडेर उहाँ हिँड्नुु भएको थियो । पिन्तुमाले छोराको बाबु र नेपालको यकिन घर ठेगाना नबताउँदा स्वदेश पठाउने कागजात बनाउन नसकिएको दुताबासको भनाइ छ ।
महिला मोलुङ गाउँपालिका वडा नं. ८ वडाअध्यक्ष हरिकुमार राई अनुसार राँगादिप कै विष्णुबहादुर राईकी कान्छी छोरी भएको र उहाँलाई गाउँमा बोलाउने नाम पिन्तुमा हो । १० वर्षअघि विदेशिएकी उहाँको बुवाआमा दुवै बितिसकेका र दाजु समेत करिब एक दशक मलेसिया गएर हालै फर्किएका छन् । बिना कमाई फर्किएपछि दाजुको अवस्था समेत नाजुक रहेको वडा अध्यक्ष राईको भनाई छ ।
गाउँमा हुँदै दुई विवाह गरेकी उनी विदेश गएपछि सम्पर्क विहीन रहेकी थिइन् । उनको उद्धार तथा उपचारको व्यवस्थापन कस्ले गर्ने भन्ने विषयमा स्थानीय सरकारले भुमिका खेल्न जरुरी देखिन्छ ।






