वीरगञ्ज, भदौ ९ : पर्साको वीरगञ्ञ्जमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा आइतबार राति सवा १० बजे उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जका सूचना अधिकारी डा. अतुलेश चौरसियाले आइतबार राति मृत्यु भएका ६८ वर्षीय पुरुषको स्वाब परीक्षणको सोमबार राति आएको रिपाेर्टमा कोरोना सङ्क्रमण रहेको पुष्टि गर्नुभयो ।
जीराभवानी गाउँपालिका वडा नम्बर ४ सुपौली टोलका ती पुरुषको मुटुमा समस्या भई बाइपास सर्जरी गरिएकाे बताइएकाे छ । श्वासप्रश्वासमा समस्या आएपछि तराई हस्पिटलमा भर्ना गरी उपचार सुरु गरिएको थियो भने तराई हस्पिटलमा बिरामीको दुवै छातीमा निमोनिया रहेको चिकित्सकले बताएका थिए ।
उपचार गर्दा कुनै सुधार नभई अवस्था झन बिग्रँदै गएपछि आइतबार राति ९ बजे अस्थायी कोभिड अस्पताल गण्डक लगिएको थियो । अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृत्युपछि स्वाब सङ्कलन गरी परीक्षणको लागि नारायणी अस्पताल पठाइएको थियो ।






