बाढीले पुल बगाउँदा आवतजावतमा समस्या

  भदौ ०६, २०७७

दमौली, भदौ ६ : तनहुँको म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने म्याग्दे खोलको पुल (मल्टीसेल कल्र्भट) गत असार २८ गतेको बाढीले बगाउँदा आवतजावतमा समस्या परेको छ । जनजागृती मोटरमार्गको मिन मावि र पुल्चोक जोड्ने उक्त पुल बाढीले बगाउँदा अहिले आवतजावतमा समस्या परेको वडा नम्बर ७ का अध्यक्ष पद्मराज वाग्लेले बताउनुभयो ।

२०६८ सालमा २२ लाखमा निर्मित उक्त पुलहुँदै दैनिक करिब २५ सय भन्दा बढी नागरिक आवतजावत गर्ने वडा अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । साविक मनपाङ गाविस हाल वडा नम्बर ७ को अधिकांश टोलका बासिन्दा उक्त पुलमार्फत नै आवतजावत गर्दैआएको वाग्लेले बताउनुभयो ।

दैनिक सात-आठ सय विद्यार्थी नै आवतजावत गर्थे तर अहिले विद्यालय बन्द भएको कारण विद्यार्थीले समस्या भने भोग्नु परेको छैन । तर बालबालिकासँगै अन्य नागरिक पनि थर्पु बजार तथा पृथ्वी राजमार्गमा आउनुपरेमा सोही पुल प्रयोग गर्नु पर्थ्याे ।

पुल बगाएपछि स्थानीय बासिन्दाले बाँसको फट्टा राखेर जोखिमपूर्ण तरिकाले आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय बासिन्दा विष्णु वाग्लेले बाँसको फट्टाबाट पुल तर्नुपर्दा निकै जोखिम भएको बताउनुभयो । पैदलै हिड्ने नागरिकहरू जोखिमपूर्ण रुपमा उक्त पुल तरे पनि सवारी साधन भने डेढ किलोमिटर परको बाटोबाट सञ्चालन हुने गरेको अर्का स्थानीय बासिन्दा एवम् नेकपा म्याग्दे गाउँ कमिटीका अध्यक्ष दिलबहादुर नेपालीले बताउनुभयो ।

उक्त स्थानमा नयाँ पुल निर्माणका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराइसकेको वडा अध्यक्ष वाग्लेले बताउनुभयो । तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले उक्त पुलको निरीक्षण गरी उक्त स्थानमा नयाँ पुल निर्माणको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले मल्टीसेल प्रविधिको उक्त कल्भर्ट निर्माण गर्न ५० लाखभन्दा बढी लागत लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया