काठमाडौँ, भदौ ५ : नेपाल सरकारले कोभिड-१९ व्यवस्थापनका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराउनुभयो । समितिमा स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिव सदस्य रहनेछन् ।
त्यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी पनि सदस्य रहनुभएको छ । समितिको गृह मन्त्रालयका सहसचिव सदस्य सचिवको जिम्मेवारी निर्वाह गर्नुहुने प्रवक्ता खतिवडाले बताउनुभयो ।
बिहीबारको मन्त्रिपरिषद बैठक कोभिड-१९ मै केन्द्रित भएर छलफल र निर्णय गरेको प्रवक्ता खतिवडाले नियमित पत्रकार सम्मेलनमा शुक्रबार जानकारी गराउनुभयो । क्वारेन्टाइनको सुरक्षा नेपाली सेनालाई दिइएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगर्ने, जोकोहीलाई कानुनअनुसार कारबाहीमा कडाइ गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
सोहीअनुसार बाह्य मुलुकबाट उद्धार गरेर नेपाल ल्याइने नेपाली नागरिकको पीसीआर परीक्षण गरेर ल्याउने, नियमित उदानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउने, कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता गर्नुपर्ने र त्यसको अनुगमन स्थानीय प्रशासनले गर्ने निर्णय पनि सरकारले गरेको छ ।
होटल क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च व्यक्ति स्वयम्ले व्यहोर्नुपर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो । त्यस्तै, उपत्यकामा बढीमा छ हजार बेडको आइसोलेसनको व्यवस्था गर्ने निर्णय पनि सरकारले निर्णय गरेको छ । प्रवक्ता खतिवडाका अनुसार अहिलेसम्म बाढी पहिरोबाट २५० जनाको ज्यान गएको, ८४ जना बेपत्ता भएको, १५२ जना घाइते भएको र ३५१ घरमा क्षति पुगेको जानकारी दिनुभयो ।
बाढी पहिरोले ज्यान गुमाउनेलाई २ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने तर एकै घरका एकभन्दा बढीको निधन भएको पाइएमा अरुलाई थप एक लाख रुपियाँको दरले सहयोग गर्ने निर्णय सरकारले गरेको छ ।
बाढी पहिरोमा परी घाइते भएका सबै उपचारको खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बाढी पहिरोमा परी घरबारविहीन भएकाहरूको परिवारलाई पाँच जनासम्म परिवार भएकालाई १५ हजार रुपियाँ सहयोग गर्ने, त्योभन्दा बढी सङ्ख्या भएको परिवारलाई २० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो ।
बाढी पहिरोले ज्यान गुमाएको ठाउँमा रोग फैलिन नदिन चिकित्सक समूह परिचालन गर्ने निर्णय पनि सरकारले गरेको छ । प्रवक्ता डा. खतिवडाका अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने निर्णय गरेको छ । राष्ट्रकविको अन्त्येष्टिको सबै खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, बाढी पहिरोमा परी ज्यान गुमाउने सबैप्रति पनि सरकारले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिनभयो । घाइतेको उपचार सरकारले गर्ने निर्णय गरेको छ ।