हेटौँडा, भदौ ५ : बाग्मती प्रदेशको काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा कोरोना अस्पतालको अभावमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा समस्या हुँदै आएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै जाँदा छुट्टै कोरोना अस्पतालको व्यवस्था नहुँदा उपचारमा समस्या देखिएको हो । कोरोना अस्पतालको अभावमा अधिकांश जिल्लामा पूर्वाधारविहीन आइसोलेसन वा क्वारेन्टाइनमा बसेर सेवा लिनु सङ्क्रमितको बाध्यता बनेको छ ।
बिरामीको उपचार घरमै
नारायणगढ समाचारदाताका अनुसार, चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि उपचार गर्ने वैकल्पिक अस्पताल तयार गर्न सकिएको छैन । ७२ घण्टामा तयार भएको कोरोना अस्थायी अस्पताल राजनीतिक खिचातानी र व्यवस्थापकीय कमजोरीले बन्द भएको र अहिले भरतपुर अस्पतालमा मात्रै कोरोना सङ्क्रमितको उपचार हुँदा यसले थेग्न नसक्ने अवस्था पुगेको छ ।
नेपाल चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष एवं भरतपुर अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.कृष्णप्रसाद पौडेल भरतपुर अस्पतालले कोरोनाका बिरामीका लागि छुट्याएका सबै बेड भरिएकाले बिरामीलाई उपचार गर्ने नयाँ अस्पतालको अभाव भएको बताउनुहुन्छ । “जति हतार गरेर कोरोना अस्पताल बनाइयो त्यति हतारमै बन्द भयो । अब त कोरोना सङ्क्रमितको उपचार कसरी गर्ने भन्ने चिन्ता भयो”, उहाँले भन्नुभयो । अस्पतालले तोकेको कोरोना सङ्क्रमितका लागि ७५ शøयाको आइसोलेसन कक्ष अहिले भरिएपछि बिरामीलाई घरमै राख्न लगाइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका लागि तीनवटा तहका अस्पताल तोकेको छ । तर चितवनमा अहिलेसम्म एउटै अस्पतालले कारोनाको उपचार दिइरहेको छ । सरकारले पहिलो चरणको कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल भरतपुर अस्पताल तोके पनि दोस्रो र तेस्रो तहको अस्पताल कुनलाई बनाउने भन्ने तोकिएको छैन । चितवन मेडिकल कलेजले डेडिकेटेड अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयसँग अनुमति मागे पनि अहिलेसम्म अनुमति दिएको छैन ।
“कोरोना सङ्क्रमणको अवस्था हेरेर हामी उपचार गराउन तयारी अवस्थामा नै छौँ । हामीले त डेडिकेटेड अस्पताल बनाउन पहिल्यैदेखि माग गरेका हौँ”, मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले भन्नुभयो ।
१५ स्वास्थ्यकर्मी सङ्क्रमित
काभ्रे समाचारदाताका अनुसार, जिल्लाका स्वास्थ्यकर्मीमा सङ्क्रमण बढ्दै गएको छ । धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ । बुधबार साँझसम्मका १५ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लाका कुल १०२ सङ्क्रमितमध्ये १५ जना स्वास्थ्य क्षेत्रका कर्मचारीमा कोरोना पोजेटिभ भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएर निको भइसकेको छ भने धुलिखेल अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । धुलिखेल अस्पतालका डाक्टर, नर्स र वार्ड ब्वाइसमेत सङ्क्रमित भएका छन् । बुधबार धुलिखेल अस्पतालका तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।
धार्मिकस्थलमा नित्य पूजा मात्र
मकवानपुर समाचारदाताका अनुसार, मकवानपुर जिल्लामा धार्मिकस्थलमा नित्य पूजा बाहेकका अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र यस वर्षका चाडपर्व नजिकिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गरी धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न भनेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वहरू आफ्नो परिवारका सदस्य मात्र संलग्न भई आ–आफ्नै घरभित्र जनस्वास्थ्यका मापदण्डहरू पालना गरी मनाउन भन्दै अनावश्यक रूपमा घरबाहिर निस्कने, आवतजावत गर्ने र भेला हुने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही भदौ ९ गते राति १२ बजेसम्मका लागि हेटौँडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने राजमार्ग दायाँ–बायाँ पाँच–पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
धादिङमा भदौ नौसम्म निषेधाज्ञा
धादिङ समाचारदाताका अनुसार, धादिङमा भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भदौ ३ गतेसम्म तोकिएको निषेधाज्ञा भदौ ९ गतेसम्म लम्बिएको हो । मङ्गलबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निशेधाज्ञा भदौ ९ गते मध्यरातसम्मका लागि लम्बाउने निर्णय गरेको हो ।
जिल्लाको राजमार्गमा सवारी चेक जाँच गर्ने व्यवस्था मिलाउने र चेक जाँचलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइएको छ । बैठकले नीलकण्ठ नगरपालिका–३ स्थित मालपोत कार्यालयको पुरानो भवनलाई हालका लागि सुरक्षाकर्मीको आइसोलेसन बनाइने निर्णय भएको छ ।
रिपोर्ट आउन ढिलाइ हुँदा जोखिम
सिन्धुली समाचारदाताका अनुसार, सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहबाट पीसीआर परीक्षण गर्न पठाइएका स्वाबको नतिजा आउन ढिलाइ हुँदा जोखिम बढेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिसँगै बाहिरका व्यक्तिको पनि स्वाब सङ्कलन गरी पीसीआर जाँच गर्न पठाएको र रिपोर्ट आउन ढिलाइ हुँदा समस्या भएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो पाइन्छ ।
मरिण गाउँपालिका प्रमुख पानीराज बम्जन गाउँपालिकाबाट एक साताअघि २० जनाको स्वाब सङ्कलन गरी हेटौँडा पठाएको र रिपोर्ट अझै नआएको बताउनुभयो । ‘ल आज स्वाब पठाएको ठ्याक्कै एक साता भयो, रिपोर्ट अझै आएको छैन,’ उहाँले भन्नुभयो, ‘रिपोर्ट नआउँदा तनाव हुँदो रहेछ । ’ त्यस्तै दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत पाँच दिनअघि ३४ जनाको स्वाब हेटौँडा पठाएकोमा कहिले रिपोर्ट आउने ठेगान नभएको बताउनुहुन्छ ।
त्यस्तै सुनकोसी गाउँपालिकाले सोमबार ४७ जनाको स्वाब पीसीआर परीक्षण गर्न हेटौँडा पठाएको जनाएको छ । हरिहरपुरगढी गाउँपालिकाका प्रमुख कार्साङ लामा बिहीबार २० जनाको स्वाब सङ्कलन गरी पठाएकोमा अहिलेसम्म रिपोर्ट नआएको सुनाउनुहुन्छ । यता जिल्ला स्वास्थ्य कार्यालयले पछिल्लो पटक जिल्लाभरिबाट २४८ जनाको स्वाब केही दिनअघि हेटौँडा पठाएको र रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । एक दुई दिनमा रिपोर्ट आउने कार्यालय प्रमुख जितेन्द्र साहले बताउनुभयो ।






