काठमाडौँ, भदौ ४ : प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा उलङ्घन गर्नेलाई स्थलगत कारबाही गरेको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उलङ्घन गर्ने करिब तीन हजार सवारी साधनलाई कारबाही गरिएको छ । त्यस्तै, एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेण्टरमा एक घण्टा राखेर कारबाही गरिएको छ ।
महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा ‘होल्डिङ सेण्टर’ बनाई कारबाही गरिएको बताउनुभयो । निषेधाज्ञा उलङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू पनि कारबाहीमा परेका छन् । आफूखुशी सञ्चालनमा आएका सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेला पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखर–लखर सडकमा हिँड्दा सुरक्षाकर्मीसमेत जोखिममा रहेको उहाँले बताउनुभयो ।
बैङ्क कर्मचारीका लागि शुक्रबारबाट सहजीकरण
बैङ्क तथा वित्तीय संस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ । निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३.३० देखि ५.३० बजेसम्म सहजीकरण गर्न लागिएको हो । विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।
औषधि तथा उपभोग्य सामग्री किन्न टाढा नजानु
‘यो निषेधाज्ञा’ तपाईंको सुरक्षाका लागि हो,’ महानगरीय प्रहरी प्रमुख पोखरेलले भन्नुभयो, ‘आफू बाँचे पो आफन्त भेट्न सकिन्छ, जबरजस्ती सडकमा नआइदिनुहोस् ।’ कतिपय स्थानमा खाद्यन्न किन्न भन्दै मोटरसाइकल र कार चढेर बाहिर निस्किएको पाइएको छ ।
खाद्यन्न सामाग्री, दूध र औषधि खरिद गर्दा आफ्नाे बस्तीनजिकैको औषधि पसल, किराना पसल र डेरीमा जान आग्रह गरेको छ । अत्यावश्यक खरिद गर्ने नाममा सडकमा ननिस्कन आग्रह गरेको छ । कुनै अफ्ठयारो परेमा वा स्वास्थ्य तथा सुरक्षासम्बन्धी समस्या परेमा सडकमा तैनाथ सुरक्षाकर्मी तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी सहयोग लिन आग्रह गरेको छ । सो कार्यमा प्रहरीले सहजीकरण गरिदिने जनाइएको छ ।
किराना, तरकारी, डेरी र पानी पसल नियमित
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामान खरिदबिक्रीका लागि किराना, तरकारी, दूग्धजन्य डेरी र पानी पसल नियमित सञ्चालनमा रोक लगाइएको छैन ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाअन्तर्गत औषधि, खाद्य पसल, तरकारी, दूधडेरी र पानी पसल सञ्चालनमा रोक नलाइएको स्पष्ट पारेको छ । तर, पसल सञ्चालक र ग्राहकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने छ ।
पसल सञ्चालक तथा ग्राहकले मास्कको प्रयोग अनिवार्य र एक मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तै, सामग्री खरिद गर्न घरबाहिर निस्कँदा वा पसल बाहिर दुई जनाभन्दा बढीको भीड गर्न निषेध गरिएको छ ।
अत्यावश्यक ढुवानीका सवारीबाहेक अन्यलाई रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ति नै जारी गरी अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारीबाहेक अन्य सवारी साधनलाई काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको जनाएको छ । अत्यावश्यक सामग्री खाद्यन्न, तरकारी, फलफूल, पानी, दूधजन्य पदार्थ, इन्धन, औषधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको स्पष्ट पारेको छ ।
निषेधाज्ञा कार्यान्वयनका क्रममा गर्न र गराउन आदेशको बुँदा नम्बर ३ लाई थप स्पष्ट पार्दै ढुवानीका सवारी साधनहरूमा अत्यावश्यकबाहेक अन्य सवारी नभएको बताएको छ । राति १२ बजेदेखि नागढुङ्गामा रोकिएका सवारीलाई मध्यरातमा काठमाडौँ भित्र्याउने तयारी गरिएको छ ।
त्यससँगै अन्य ढुवानीका सवारी साधनहरू निषेधाज्ञा नहटेसम्म उपत्यकाबाट बाहिरिन र भित्रिन पाउने छैन । नागढुङ्गामा रोकिएका अधिकांश सवारी साधन निर्माण जन्य सामाग्री र औद्योगिक कच्चा पदार्थ बोकेको सवारी साधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।






