काठमाडौं, भदौ ३ : कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ठोस योजना बनाउन सीसीएमसीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद बैठकमा ठोस योजना ल्याउन निर्देशन दिनुभएको थियो ।
कोरोना (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि सर्वसाधारणमा त्रास फैलिन थालेको छ । विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना संक्रमण न्यूनिकरण नभएको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । उपत्यकामा पनि बुधबार रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लगाइएको छ ।
सो विषयमा ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीले सीसीएमसीका संयोजक रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बालुवाटारमा जारी छ । बैठकले कोरोना नियन्त्रण तथा न्यूनिकरणका विषयमा ठोस योजना ल्याउने बुझिएको छ ।






