लमजुङमा तीनजना प्रहरीमा कोरोना सङ्क्रमण

  भदौ ०३, २०७७

लमजुङ, भदौ ३ : लमजुङमा कार्यरत तीनजना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कन्ट्रयाक टे«ेसिङको आधारमा पीसीआर परीक्षण गरिएका प्रहरीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित हुनेमा बाग्लुङको बडिगाड गाउँपालिकाका २२ वर्षीय पुरुष, धादिङको गंगाजमुना गाउँपालिकाका ३२ वर्षीय पुरुष र नवलपरासी कावासोती नगरपालिकाका ३२ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमित हुनेमा दुईजना सिपाही र एकजना हवल्दार छन् ।

उनीहरुको साउन ३२ गते स्वाब संकलन गरी गण्डकी प्रदेश प्रयोगशालामा पठाइएको थियो । ४६ जना प्रहरी र नौ थुनुवा गरी ५५ जनाको स्वाब संकलन गरी पठाइएकोमा आठ जना प्रहरीको रिपोर्ट आउन बाँकी छ । तीन जना थुनवाको रिपोर्ट आउन बाँकी रहेको छ ।

केही दिन अघि तनहुँ घर भएका एक प्रहरी नायव निरीक्षक विदामा घर जाँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाव संकलन गरिएको थियो । कन्ट्रयाक ट्रेसिङको आधारमा पीसीआर परीक्षण गरिएका प्रहरीमा कोरोना देखिएको प्रशासनले जनाएको छ । उनीहरुलाई बेंसीसहर नगरपालिका ७ सहजीस्थित सहरी विकास कार्यालयको भवनमा रहेको आइशोलेसनमा लगिएको छ ।

प्रहरीमै कोरोना सङ्क्रमण देखिएपछि नागरिक त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार प्रहरीमा कोरोना देखिएपछि कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । कार्यालय सिल नगरिए पनि कन्ट्रयाक टेसिङको आधारमा स्वाब संकलन गरि पठाइएकालाई क्वारेन्टाइनमा राखिएको छ । अन्य प्रहरी कार्यालय आडैको फूलबारी मञ्चमा निर्माण गरिएको अस्थायी टहरामा राखिएको छ । सेवाग्राहीलाई गेटबाटै सेवा दिन थालिएको प्रनाउ थापाले बताउनुभयो ।

लमजुङमा हालसम्म एकसय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महिला नौ र पुरुष एकसय सात जना छन् । महिला नौ र एक सय दुई जना पुरुष गरी एक सय ११ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । हाल आइशोलेसनमा पाँच जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया