अधिकांश स्थानीय तहबाट सेवा प्रवाह बन्द

  भदौ ०३, २०७७

हेटौँडा, भदौ ३ : बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै अधिकांश स्थानीय तहबाट प्रदान गरिने सेवा ठप्प प्रायः रहेका छन् । स्थानीय प्रशासनले नुवाकोट र रामेछाप जिल्लामा पूर्ण रूपमा र मकवानपुर, चितवन र धादिङ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् ।

यस्तै दोलखा र सिन्धुपाल्चोक जिल्लामा बन्दाबन्दी गरिएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र स्वाथ्यकर्मीसमेत कोरोना सङ्क्रमित भएपछि स्थानीय तहले नागरिकलाई बिरामी हुँदा एम्बुलेन्स सेवा लिन सिफारिसलगायतका आकस्मिक रूपमा प्रदान गर्नुपर्ने सेवामात्र प्रदान गर्दै आएको पाएको छ ।

राजमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा
मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिका अन्तर्गत पर्ने राजमार्ग आसपासका क्षेत्रमा भदौ ९ गते रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापा निषेधाज्ञा जारीपछि नागरिकलाई प्रदान गर्ने सेवा शून्य रहेको बताउनुहुन्छ ।

कर्मचारी कार्यालयमा आए पनि आन्तरिक काम र चालू आर्थिक वर्षको योजनाको तयारीमा लागेको बताउनुहुन्छ । भीमफेदी गाउँपालिकाले भदौ १०, बाग्मती गाउँपालिकाले भदौ ८, कैलाश गाउँपालिकाले भदौ १२, मनहरी गाउँपालिकाले भदौ ९ गतेसम्मका लागि र मकवानपुरगढी गाउँपालिकाले अनिश्चितकालका लागि अत्यावश्यक सेवा बाहेकका सेवा रोकेको छ । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले स्थानीयमा कोरोना सङ्क्रमण भएपछि ७३ जनाको स्वाब सङ्कलन गरिएको र स्वाब परीक्षणको नतिजा नआएसम्म सेवा रोकिने बताउनुभयो ।

यस्तै राक्सिराङ गाउँपालिकामा सेवा लिन आउने एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि १९ जना कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएपछि गाउँपालिकाले प्रदान गर्ने सेवा ठप्प भएको छ । उता थाहा नगरपालिकाले सोमबार रातिदेखि भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टले कोरोना सङ्क्रमणको जोखिम बढेकाले सो निर्णय गरेको जानकारी दिनुभयो ।

अति आवश्यक सेवा बाहेकका काम बन्द
काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि स्थानीय तहले अति आवश्यक सेवा बाहेकका काम बन्द गरेका छन् । धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका, भुम्लु र रोशी गाउँपालिकाले अति आवश्यक बाहेकका सेवा बन्द गरिएको जनाएका छन् । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले एक साताका लागि सेवा बन्द गरिएको भन्दै घरमा चाडपर्व मनाउँदासमेत भौतिक दूरी कायम राखी स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले नगरपालिका, वडा कार्यालय, बैङ्क, वित्तीय संस्थासमेतका अन्य पेसा व्यवसाय एक साताका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमित बढ्दै गएपछि जिल्लाको व्यापारिक केन्द्र बनेपाले अत्यावश्यक सेवा बाहेकका पसल, व्यवसायसमेत बन्द गर्न सूचना जारी गरेको छ । नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, पनौती नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको विज्ञप्ति जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले सहरी क्षेत्रमा भेला, बैठक, गोष्ठी सेमिनार नगर्न सूचना जारी गरेको छ । त्यस्तै महाभारत, खानीखोला, तेमाल र चौँरीदेउराली गाउँपालिकाले भेला, गोष्ठी, भीडभाड नगर्न सूचना जारी गरेका भए पनि कार्यालय भने सञ्चालनमै रहेका छन् ।

बन्दाबन्दी घोषणा
यस्तै सिन्धुली जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै सबै नौवटै स्थानीय तहले अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेर बन्दाबन्दीको घोषणा गरेका छन् ।

जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोकथाम तथा न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको स्थानीय तहले जनाएका छन् । दुधौली, नगरपालिका, गोलान्जोर, तीनपाट र फिक्कल स्थानीय तहले एक साताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् ।

कमलामाई नगरपालिका, घ्याङ्लेख, मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकाले दुई सातासम्म बन्दाबन्दी घोषणा गरेका छन् । यही ६ गते मध्य रातिसम्मका लागि बन्दाबन्दी गरेको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले स्वास्थ्य संस्था र सुरक्षा निकायबाहेक नगरपालिका भित्रका सम्पूर्ण कार्यालय पूर्णरूपमा बन्द गरिएको जानकारी दिनुभयो ।

भदौ १ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मका लागि बन्दाबन्दी घोषणा गरेको घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले अत्यावश्यक बाहेकका सबै सेवा र गाउँपालिका मातहतका सरकारी कार्यालय, वडा कार्यालयसमेत बन्द गरिएको बताउनुभयो ।

यसैबीच धादिङ जिल्लाको केही क्षेत्रमा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि अधिकांश पालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । एक साताका लागि सङ्कट व्यवस्थापन समितिले जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेपछि अन्य पालिकाले पनि धमाधम अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेका छन् । दुई नगरपालिका र ११ गाउँपालिका मध्ये थाक्रे, रुविभ्याली र खयाबास गाउँपालिकाले मात्र सबै सेवा प्रदान गरिरहेका छन् ।

जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकासहित अन्य नौ पालिकाले सङ्कट व्यवस्थापन समितिको निर्णयलाई नै आधार बनाएर पालिकाभित्रका सेवा बन्द गराएका छन् ।

माडीबाहेक सबै तहमा निषेधाज्ञा
यसैगरी चितवन जिल्लाका सातवटा स्थानीय तहमध्ये माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा साउन ३० गते मध्यरातिदेखि भदौ ५ गते रातिसम्मका लागि रत्ननगर, खैरहनी, कालीका र राप्ती नगरपालिका तथा इच्छाकामना गाउँपालिका क्षेत्रमा साउन ३२ गते मध्यरातिदेखि भदौ ५ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको भए पनि कार्यालयबाट दिइने अत्यावश्यक सेवा भने सञ्चालनमा रहेका छन् । सबै शाखा प्रमुख, सबै वडा कार्यालयका सचिव र कम्प्युटर अपरेटरलाई अत्यावश्यक सेवाका काम नरोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले प्रदान गर्ने सबै सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

दोलखा जिल्लामा जिल्ला प्रशासन कार्यालयले जिल्ला बन्दाबन्दी घोषणा गरेसँगै यहाँका स्थानीय तहले दिने सेवामा प्रभावित भएको छ । जिल्ला बन्दाबन्दी हुनु अघिदेखि नै गौरीशङ्कर गाउँपालिकाबाट प्रवाह गर्ने सेवा बन्द रहेका छन् । अध्यक्ष स्वयमबहादुर खड्काले भन्नुभयो, पालिकाको र वडाले दिने सम्पूर्ण कामकारबाही अनिश्चितकालका लागि बन्द रहेका छन् ।

त्यस्तै कालीञ्चोक गाउँपालिकाले पालिकाका सम्पूर्ण सेवा बन्द र एक वडाबाट अर्को वडामा आवतजावत गर्नसमेत बन्द गरिएकाले सर्वसाधारणमा असर परेको अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो । भीमेश्वर नगरपालिका स्थित सदरमुकाम चरिकोटमा रहेका अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेकका सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द रहेका छन् ।

उता रसुवामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पाँच गाउँपालिकाबाट जिल्ला अन्तर सवारी पास बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार सवारी पास अन्तर जिल्ला बन्द गरिएको छ । कुनै पनि गाउँपालिकामा घोषित रूपमा बन्दाबन्दी भएको छैन । यस्तैगरी भदौ १ गतेबाट ७ गतेसम्म सिन्धुपाल्चोकमा बन्दाबन्दी गरिएको छ ।

कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि १२ वटै स्थानीय तहमा बन्दाबन्दी गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण सवारीसाधन चले पनि कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवा लिन जान नागरिकलाई असहज भएको छ ।

तपाईको प्रतिक्रिया