बारा, भदौ २ : बाराको पचरौता नगरपालिका-३, बैरिया नाकामा भारतीय तस्करहरूको आक्रमणबाट सशस्त्र प्रहरी हवलदार घाइते भएका छन् ।
मङ्गलबार बिहान ९ बजे भारत बिहार राज्य बिजबनी गाउँ पञ्चायतको भलुवाही टोलका तस्करहरूले आक्रमण गर्दा बोर्डर आउट पोष्ट पिपरपातीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार भीमबहादुर कार्कीको टाउको फुटेको बोर्डर आउट पोष्ट पिपरपातीका सशस्त्र प्रहरी निरीक्षक देवबहादुर कार्कीले बताउनुभयो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १ र पचरौता नगरपालिकाको वडा नम्बर ३ को सीमामा पर्ने सो ठाउँ तस्करहरूले वर्षाैँदेखि चोर बाटोको रुपमा प्रयोग गर्दै आइरहेका स्थानीयहरूले बताएका छन् ।
सो नाकामा ड्युटीमा खटेका हवलदारको कमाण्ड चार जना सशस्त्र प्रहरी रहेको तथा ४-५ दर्जनको सङ्ख्यामा रहेका भारतीय मल तस्करहरूले मल नेपाल भित्र्याउन खोजेपछि प्रहरीले रोक्दा उनीहरूले गरेको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ हवलदार कार्की घाइते भएका थिए ।
सशस्त्र प्रहरीले भारतीय मल नेपाल भित्रिन नदिएपछि दशगाजा क्षेत्रमा मल तस्करहरू सघाउन धेरैको सङ्ख्यामा आएका भारतीयहरूले ढुङ्गामुढा गर्न थालेपछि हवलदार कार्कीको टाउको फुटेको तथा उहाँको टाउकोमा तीन वटा टाँका लागेको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
अहिले सो ठाउँको अवस्था सामान्य भएको तथा नेपाल भारतको नाकामा सशस्त्र प्रहरीले कडा निगरानी बढाएको जनाइएको छ ।






