कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

  भदौ ०२, २०७७

नेपालगञ्ज, भदौ २ : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा चार पुगेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुषको सोमवार राति ११ः४० बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको बताउनुभयो ।

उहाँले ती पुरुषको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको जनाउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मृतकको दुवै तर्फको फोक्सोमा निमोनिया भएको थियो ।

श्रेष्ठका अनुसार उनलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए ।
कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार शुरु गर्नुका साथै पिसिआर जाँचका लागि स्वाब लिइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । सोमवार दिउँसो ३ बजे उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले मृतकलाई कोराना भएको पुष्टि भएपछि उहाँको अवस्था चिन्ताजनक हुँदै गएकोले प्लाज्माका लागि संक्रमणबाट निको भएकालाई रगत दिन आह्वान गरिएको बताउनुभयो । उहाँले तर कसैले पनि ए पोजेटिभ रगत नदिएपछि उहाँको उपचार अगाडि बढ्न नसकेको र अवस्था विग्रदै गएपछि उनको मृत्यु भएको बताउनुभयो ।

यसअघि नरैनापुर गाउँपालिका–५, मटेहियाका २५ बर्षिय युवा, बैजनाथ गाउँपालिकाकी ६५ बर्षिया महिला र कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ । कोरोनाका कारण मृत्यु भएका नेपालगञ्ज–५ का ६२ बर्षिय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम पुरुषको अन्त्येष्टि ईस्लामिक संस्कृति र परम्परा अनुसार गरिने गोरखापत्र अनलाइनले जनाएको छ ।

प्रदेशसभाका सभासद तथा नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले मृतकको अन्त्येष्टि ईस्लामिक संस्कृति र परम्परा अनुसार नेपालगञ्ज ४ स्थित कब्रुस्तानमा गरिने तयारी भैरहेको बताउनुभयो । सभासद अन्सारीले जिल्ला प्रशासन र नेपाली सेनाको सहयोगमा मुस्लिम परम्परा अनुसार स्थानीय कब्रुस्तानमा मंगलवार दिउँसो अन्तिम संस्कार गरिने तयारी शुरु गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया