जनकपुरधाम, भदौ १ : प्रदेश २ को राजधानी जनकपुरधाममा सोमबार कोरोना सङ्क्रमण बाट थप एक जनाको मृत्यु भएपछि धनुषामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
आज मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नंं ३ का एक ६५ वर्षीय पुरुष रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका सो पुरुषमा श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्या रहेको र उपचारकै क्रममा मृत्यु भएको कोरोना विशेष अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनुभयो ।
मृतक साउन ३१ गते अस्पतालको आईसोलेशनमा भर्ना भएको थियो । दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्याका साथै रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा मृतक पुरुषमा कोरोनाको पुष्टि भएको थियो ।कोरोना विशेष अस्पतालको आईसोलेशनमा भर्ना भएर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था विग्रेपछि आज आईसियुमा राखेर उपचार हुँदै गर्दा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक वामपन्थी नेता रहेको बताइएको छ । नेकपाका नेता राज कुमार यादवले एक विज्ञप्ती जारी गरी कोरोना सङ्क्रमित भइ उपचार गराइ रहेका दिल मोहमद अन्सारीको मृत्युले नेकपा लाई ठुलै क्षति भएको भन्दै मृतक प्रति श्रद्धान्जली व्यक्त गर्नुको साथै सोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्नु भएको छ ।






