काठमाडौँ, भदाै १ : काठमाडौँ उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४०८ पुरुष र १७३ महिला रहेका छन् ।
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२० नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख २९ हजार ७२७ नमूना परीक्षण भइसकेको छ ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७९५ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६४ दशमलव दुई प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहेको सङ्ख्या १५ हजार १९८ रहेको छ । देशभर जम्मा नौ हजार ६३९ सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा सात हजार ३८ र होम आइसोलेशनमा दुई हजार ६०१ रहेका छन् ।
प्रदेशअनुसार सक्रिय सङ्क्रमित प्रदेश १ मा ९१०, प्रदेश २ मा एक हजार ८६७, वाग्मती प्रदेशमा दुई हजार २१८, प्रदेश ४ मा २९७, प्रदेश ५ मा ७३५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशमा ७९९ रहेका छन् । देशभरमा गरी ११३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा एक, प्रदेश २ मा ४१, वाग्मती प्रदेशमा ५९, गण्डकी प्रदेशमा एक र प्रदेश ५ मा ११ जना आइसियुमा रहेका छन् । वाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।
नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार १४३ जनामा पिसीआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा नै मृत्यु तीन दशमलव चार रहेको छ । आज नयाँ सङ्क्रमित फेला परेका जिल्लामा बाँके, सल्यान, बारा, पर्सा, सप्तरी, मोरङ, झापा, सुनसरी, कपिलवस्तु, काभ्रे, महोतरी, धनुषा, दैलेख, जुम्ला, मोरङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम छन् । त्यस्तै, रौतहट, सिन्धुपाल्चोक, कास्की, सुर्खेत, तनहुँ, अर्खाखाँची, प्युठान, दाङ, कैलाली, कञ्चनपुर, मकवानपुर, धादिङ, सर्लाही, चितवन, महोत्तरी, रुपन्देही र नुवाकोटमा पनि नयाँ सङ्क्रमित फेला पुष्टि भएको छ ।
जम्मा सङ्क्रमितमध्ये ८० प्रतिशतलाई आफैँ निको हुने र १० प्रतिशतलाई अस्पताल नै जानु परेपनि जटिल समस्या नहुने प्रवक्ता गौतमले बताउनुभयो । अस्पताल पुग्ने १० प्रतिशत व्यक्तिलाई सामान्य लक्षण मात्रै देखिने हुँदा क्षणीक उपचार गरे पुग्ने हुन्छ । बाँकीलाई आइसियू र भेण्टिलेटर आवश्यक पर्न सक्ने देखिएको उहाँले जानकारी दिनुभयो ।
कुनै पनि व्यक्तिले मेरो जिल्ला वा क्षेत्रमा सङक्रमित नदेखिँदा म सुरक्षित छु भन्ने सोच्नु नहुने, परीक्षणका क्रममा पोजेटिभ आउने व्यक्तिले पनि म त अब बर्बाद नै भए भन्ने सोचाइ राख्न नहुने उहाँको भनाइ छ । कुनै पनि व्यक्ति अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन नहुने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “निस्कनै पर्दा माक्स लगाउनुपर्छ र अरु व्यक्तिसँग कम्तीमा दुई मिटरको दूरी राख्नुपर्छ ।”
थप तीन सङ्क्रमितको मृत्यु
कोभिडका कारण थप तीन जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, काठमाडौँका ५८ वर्षीय महिला र मोरङका ६० वर्षीय पुरुष छन् ।
पाँच जिल्लामा सङ्क्रमित ५०० बढी, पाँच जिल्लामा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये पाँच जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ । ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोतरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
कोरोना भाइरसका ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाै हजार ६४९ रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिनुभयाे । क्वारेन्टिनमा १५ हजार १५८ रहेका छन् ।
पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
उपत्यकामा १६८ सङ्क्रमित
काठमाडाैँ उपत्यकामा १६८ जना नयाँ थपिएका छन् । काठमाडाैँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना थपिएका छन् ।
मृत्यु सङ्ख्या १०७ पुग्याे, साेमबार तीनकाे मृत्यु
सोमबार तीनजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।






