वीरगञ्जमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुने संख्या एकसय पुग्याे

  साउन ३१, २०७७

वीरगञ्ज, साउन ३१ : वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक सङ्क्रमितको शुक्रबार साँझ मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या एकसय पुगेकाे औपचारिक घाेषणा हुन बाँकी छ । 

अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार कोरोना भाईरसको सङ्क्रमण पुष्टि भई विगत ७ दिन देखि अस्थायी कोभिड अस्पतालमा उपचारत वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।

पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालाइसिस रोगबाट पीडित वृद्धलाई कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएपछि साउन २४ गतेदेखि अस्थायी कोभिड अस्पतालमा उपचार गरिँदै आएको थियो ।

‘वृद्ध रोगी भए पनि कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक थियो तर शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या आयो । चिकित्सकहरुले उपचार गरी बचाउने प्रयास गर्नुभयो तर बचाउन सकिएन ।’ डा. सिंहले गोरखापत्रसँग भन्नुभयो ।

शुक्रबार एक सङ्क्रमित वृद्धको मृत्यु भएसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ भने साउन महिनामा मात्रै २२ जनाको मृत्यु भईसकेको छ । मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ रहनु भएको छ भने जेठ ३१ गते वीरगञ्जको घण्टाघर छेऊमा मृत फेला परेका एक सङ्क्रमित युवकको हालसम्म पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया