भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभ दलले जित्ने सम्भावना

  १६ घण्टा अगाडि

मेलबर्न, १२ मङ्सिर : अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ दलले जित हासिल गर्ने सम्भावना देखिएको छ । यसले प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको लेबर पार्टीलाई ठूलो पराजयको सामना गराउन सक्ने अनुमान गरिएको छ ।

अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्न रहेको भिक्टोरियामा मध्यवामपन्थी लेबर पार्टीले १२ वर्षदेखि शासन गर्दै आएको छ । तर, यसै साता सार्वजनिक मतसर्वेक्षणहरूले राज्यको लिबरल पार्टीकी नेता जेस विल्सनले लेबरलाई सत्ताबाट हटाउने सम्भावना देखाएका छन् ।

३६ वर्षीया विल्सनले अत्यधिक ऋणमा रहेको राज्यको वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार सार्वजनिक न्युसपोल सर्वेक्षणले कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले ठूलो अन्तरले जित्ने देखाएको छ ।

वर्तमान मुख्यमन्त्री बेन क्यारोललाई पराजित गरेमा विल्सन राज्यको पहिलो महिला लिबरल मुख्यमन्त्री बन्नुहुनेछ । उहाँले भिक्टोरियाको देशकै सबैभन्दा बढी ऋण घटाउन २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिकी डलर) बराबरका उपाय अघि सार्नुभएको छ । यसमा ढल निकास प्रणाली निजीकरण गर्ने विवादास्पद योजना पनि समावेश छ ।

“यो निर्वाचन मानिसहरूले सोचेभन्दा बढी प्रतिस्पर्धात्मक हुनेछ,” उहाँले च्यानल सेभेनसँग भन्नुभयो ।

भिक्टोरियालाई देशव्यापी राजनीतिक प्रवृत्तिको सङ्केत दिने राज्यका रूपमा हेरिन्छ । यहाँ लेबर पराजित भएमा दोस्रो कार्यकालको मध्यावधिमा रहेका प्रधानमन्त्री अल्बानिजमाथि थप दबाब बढ्न सक्छ । जीवनयापनको बढ्दो लागतप्रति असन्तुष्टिका कारण उहाँको लोकप्रियता अहिलेसम्मकै न्यून स्तरमा झरेको छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया