काठमाडौं, १२ मंसिर : नेपाली कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षासँगै जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्दै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका सकारात्मक काममा सहयोग गर्ने र गलत निर्णय तथा कार्यशैलीको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।
बैठकले संसद् अधिवेशन आह्वान गर्न, संवैधानिक निकायको मर्यादा कायम राख्न तथा महँगी नियन्त्रण, रोजगारी सिर्जना, किसानका समस्या समाधान, सहकारी पीडितलाई न्याय र सार्वजनिक सेवा सुधारमा ध्यान दिन सरकारसँग माग गरेको छ ।
कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका भैरहवा हवाई मार्ग सञ्चालन, बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि २४० अर्ब रुपैयाँ बराबरको सहयोग तथा शिक्षा र प्रविधिमा सहकार्यसम्बन्धी सहमतिलाई स्वागत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
त्यस्तै, बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणका लागि केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दा वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।
बैठकले पार्टीको आन्तरिक सुदृढीकरण, सामाजिक समावेशीकरण तथा लैङ्गिक हिंसाविरुद्धको अभियानलाई देशभर विस्तार गर्ने निर्णय गर्दै राष्ट्रिय राजनीति, सुशासन, सामाजिक न्याय र जनजीविकालाई प्रतिपक्षी भूमिकाको प्राथमिकतामा राखेको छ ।






