दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन

  ४ मिनेट अगाडि

कर्णाली, १२ मङ्सिर : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्म बमोजिम सञ्चालन हुने बताउनुभएको छ ।

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्ण तयारीबारे आज राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस दुई वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा भए पनि २२ विधाका खेल सुर्खेतमै भएको बताउनुभयो ।

कर्णाली प्रदेश रङ्गशाला हुँदाहुँदै फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा किन भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, “सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु । सङ्घीयताको मर्म बमोजिम जसरी कर्णालीवासीको खुसीको लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा भयो । त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्ने न्यायिक निर्णय भएको हो । महिला फुटबलको सेमिफाइनल र फाइनल खेल त प्रदेश रङ्गशालामा हुँदैछ ।”

मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेला मानिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई सफल बनाउन कर्णालीवासी लगायत सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । मङ्सिर १६ गते आयोजना हुने प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाह गर्ने उहाँले जानकारी दिनुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्नका लागि सघाउन अनुरोध गर्नुभयो ।

उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रङ्गशालालगायत कर्णालीमा आठ विधाका खेल सञ्चालन भएको बताउँदै ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ पूर्ण तयारी भएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता तयारीको थप प्रगतिबारे यही मङ्सिर १५ गते जानकारी गराइने राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया