‘मध्यपुर थिमि खेलकुद महोत्सव २०८३’ आयोजना हुने

  मंसिर १२, २०८३

भक्तपुर, ११ मङ्सिर : मध्यपुर थिमि नगरपालिकाले आगामी पुसदेखि ‘मध्यपुर थिमि खेलकुद महोत्सव २०८३’ आयोजना गर्ने भएको छ । खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्दै नगरको राष्ट्रिय पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक तथा सम्पदाको पहिचानलाई खेलकुदसँग जोडेर राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताउनुभयो । खेलकुदलाई स्वस्थ नागरिक, अनुशासित समाज र सक्षम युवा निर्माणको आधारका रूपमा विकास गरिने उहाँको भनाइ छ ।

महोत्सवको सुरुवात पुस ११ गते बागमती प्रदेश अन्तरनगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिताबाट हुनेछ । महोत्सवमा बुद्धिचाल, भलिबल, कराते, तेक्वान्दो, उसु, किक बक्सिङ, टेबलटेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकरलगायत प्रतियोगिता सञ्चालन गरिनेछ ।

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले महोत्सवले लुकेका खेल प्रतिभाको पहिचान र युवालाई खेलकुदमा आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलकुद पूर्वाधार विकास, खेलमैदान स्तरोन्नति, खेलाडीको क्षमता अभिवृद्धि र नियमित प्रशिक्षणलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

महोत्सवले खेलकुदसँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया