काठमाडौं, ११ मङ्सिर : नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन हुनुभएको छ । संघको ४०औँ वार्षिक साधारणसभाबाट उहाँ अध्यक्ष चुनिनुभएको हो ।
हाल उपाध्यक्ष रहनुभएका रेग्मीलाई अध्यक्ष बनाउने विषयमा वाणिज्य बैंकका सीईओहरूबीच सहमति जुटेको हो । उहाँ अध्यक्ष बनेसँगै रिक्त उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल सर्वसम्मत चयन हुनुभएको छ ।
संघमा विगत १३ वर्षदेखि उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ । यद्यपि, दुई वर्षअघि अध्यक्ष चयनमा सहमति जुट्न नसक्दा प्रतिस्पर्धा देखिएको थियो । २०८१ पुसमा भएको ३८औँ वार्षिक साधारणसभामा माछापुच्छ्रे बैंकका तत्कालीन सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्ष पदमा दाबी गर्नुभएको थियो । पछि पूर्वअध्यक्षहरूको पहलमा सहमति जुटाइएको थियो ।






