दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

  ५ मिनेट अगाडि

जुबा, ११ मङ्सिर : दक्षिण सुडानका राष्ट्रपतिले चार क्षेत्रबाट सङ्कटकाल हटाएको उहाँको राष्ट्रिय टेलिभिजनले बिहीबार जनाएको छ । यससँगै द्वन्द्वका कारण ढिलो भएका चुनाव अब अर्को वर्षको सुरुमा हुने अपेक्षा गरिएको छ ।

सन् २०११ मा स्वतन्त्रता पाएको सुडान सामुदायिक हिंसा तथा चरम गरिबीले ग्रस्त छ । विश्वकै सबैभन्दा भ्रष्ट देशमध्ये एकको सूचीमा रहेको सुडानको सरकारले दीर्घकालीन असुरक्षा सम्बोधन गर्न सकेको छैन र लामो समयदेखि पर्खाइमा रहेको चुनाव हालै फेरि फेब्रुअरी ११ सम्मका लागि सारिएको छ ।

“राष्ट्रपति साल्भा कीरले लेक्स, वार्रप, वेस्टर्न बहर एल गजाल र युनिटी राज्यमा सङ्कटकाल हटाइएको घोषणा गर्नुभएको छ,” दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेसन ९एसएसबीसी० को फेसबुक पोस्टमा उल्लेख छ । यस निर्णयको कुनै कारण दिइएको छैन । वार्रप राज्य सन् २०२५ देखि यो प्रावधानअन्तर्गत थियो जसले नागरिकहरूको आवतजावत सीमित गर्छ । त्यसबेला सयौं मानिसको ज्यान जाने गरी घातक सामुदायिक झडप भएको थियो ।

सङ्कटकाल हटाउने आदेशका बाबजुद वार्रप र युनिटी राज्यमा विशेष गरी हालका महिनाहरूमा पनि हिंसाका घटना बढिरहेका पाइन्छ । अक्टोबरमा युनिटी राज्यको सीमा नजिक सामुदायिक झडपमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो । द्वन्द्व अनुगमन संस्था एसीएलईडीले अगस्ट र मार्चमा वार्रपमा यस्तै झडप रेकर्ड गरेको थियो जसमा कुल करिब १२० जनाको मृत्यु भएको थियो । अन्य तीन राज्य कति समयदेखि यो प्रावधानअन्तर्गत थिए भन्ने स्पष्ट छैन तर नागरिक समाजका अगुवा एडमन्ड याकानीले यो कदमलाई स्वागत गनुभएको छ ।

उहाँले भन्नुभयो, “सङ्कटकाल चुनावी प्रक्रियाको चरणका लागि खतरा थियो र राष्ट्रपतिले यसलाई हटाउनु भएको छ । यो स्वागतयोग्य कदम हो ।” (रासस/एएफपी)

तपाईको प्रतिक्रिया