काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा सम्झौता कार्यान्वयन गर्न सरकारले गृहकार्य अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै सहमति कार्यान्वयनको तयारी थालेको हो ।
सम्झौतालाई निर्धारित समयभित्र कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिने र प्रगतिको नियमित अनुगमन गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभयो । उहाँका अनुसार कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रालयको भए पनि आवश्यक समन्वय र सहजीकरण प्रधानमन्त्री कार्यालयले गर्नेछ ।
शुक्रबार आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता अर्यालले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण पूरा गरी मङ्सिर ७ गते स्वदेश फर्किनुभएको थियो ।
भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । आयोजनाको एक प्याकेजअन्तर्गत ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान भइसकेको र सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको अर्यालले जानकारी दिनुभयो ।
यसैबीच, सङ्घ, प्रदेश र स्थानीय तहका विकास आयोजना तथा वार्षिक कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न पनि प्रधानमन्त्री कार्यालयले काम अघि बढाएको छ । तीन आर्थिक वर्षका कार्यक्रमको तुलनात्मक अध्ययन गरी दोहोरो तथा तेहोरो लगानी रोक्ने तयारी गरिएको छ ।
सरकारी सेवा प्रवाह, सार्वजनिक खरिद, साइबर सुरक्षा, उद्यमशीलता विकास र लगानी सहजीकरणमा समेत समन्वयात्मक काम भइरहेको छ । नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई छिटो स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति निर्माणको तयारी भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।






