काठमाडौँ, १ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार गिरी २०७८ वैशाख १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा कार्यरत थिए ।
गिरीले नियुक्तिका क्रममा पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा अन्य व्यक्तिको नाममा रहेको पाइएको आयोगले जनाएको छ ।
आफ्नो शैक्षिक योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।






