काठमाडौँ, २४ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५:०० बजे सुरु हुने तालिका छ ।
आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ ।
यता जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोरेको छ । चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ । एनपिएल–३ मङ्सिर ५ गतेसम्म सञ्चालन हुने राससमा उल्लेख छ ।






