मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक

  ११ घण्टा अगाडि

मुस्ताङ, ७ कात्तिक : दसैंअघि सुनसानजस्तै बनेको हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको पर्यटन क्षेत्र दसैंपछि पर्यटकको आगमन बढेसँगै चलायमान हुन थालेको हो ।

रसुवाको भोटेकोशीमा आएको बाढी तथा गत असोज ११ गतेको भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैंपछि सडकमार्ग हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या बढेको छ ।

यस वर्ष घटस्थापनादेखि विजयादशमीसम्मको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै पाँच हजार ६६३ पर्यटक मुस्ताङ भित्रिएका थिए । तीमध्ये तीन हजार ७३८ पुरुष र एक हजार ९२५ महिला थिए । उक्त अवधिमा चार हजार ४०९ जना अर्थात् ७७ दशमलव ८५ प्रतिशत विदेशी पर्यटक रहेको प्रहरी निरीक्षक महतले जानकारी दिएका छन् ।

दसैंको टीकापछिका दुई दिनमा मात्रै सात हजार ८४६ पर्यटक मुस्ताङ पुगेका छन् । बिहीबार तीन हजार ३३ र शुक्रबार चार हजार ८१३ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ पर्यटक मुस्ताङ पुगेका थिए । दसैं–तिहारको बिदामा विदेशबाट स्वदेश फर्किएका नेपाली, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र देशका विभिन्न स्थानबाट घुम्न आउने पर्यटकका कारण पर्यटन व्यवसाय थप चलायमान हुने अपेक्षा गरिएको छ ।

मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर, कोरला नाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल र टिटी ताललगायतका पर्यटकीय गन्तव्यले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, हिमाली भू–दृश्य र प्राकृतिक सौन्दर्य मुस्ताङका प्रमुख आकर्षण हुन् ।

बाढीपहिरो र सडक अवरोधका कारण सुस्ताएको पर्यटन क्षेत्र दसैंपछि पर्यटकको आगमन बढेसँगै पुनः गति लिनेमा पर्यटन व्यवसायी आशावादी रहेका छन् । राससका अनुसार दसैं–तिहार तथा छठ पर्वको अवधिमा मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको उपस्थिति थप बढ्ने अपेक्षा गरिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया