विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

  ४ घण्टा अगाडि

काठमाडौँ, ७ कात्तिक : विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा. डा. सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास र सतर्कता आवश्यक रहेको बताउनुभएको छ ।

विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि महत्त्वपूर्ण भए पनि त्यसलाई निरन्तर कायम राख्न सबै पक्षको प्रयास आवश्यक रहेको बताउनुभयो ।

विश्वको कुनै पनि स्थानमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि रोग भित्रिने जोखिम रहने उहाँले उल्लेख गर्नुभयो । खुला सिमाना र मानिसको आवागमनका कारण पोलियोविरुद्ध निरन्तर सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

श्रेष्ठले पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकतामा जोड दिनुभएको छ । उहाँका अनुसार सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउनु, विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्रका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्नु आवश्यक छ ।

त्यसैगरी, पोलियो भाइरसको समयमै पहिचान गर्न तीव्र लुलोपनको निगरानी प्रभावकारी बनाउने र भाइरस देखिएमा शीघ्र तथा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी र समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।

पोलियोसम्बन्धी विश्वव्यापी वित्तीय सहयोगको बदलिँदो परिस्थितिमा खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम र प्रकोप प्रतिकार्यका लागि आवश्यक क्षमता तथा संरचना जोगाइराख्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । पोलियो उन्मूलनका क्रममा हासिल भएका अनुभव, विशेषज्ञता र संरचनाको उपयोग गरी अन्य खोपबाट रोकथाम गर्न सकिने रोगको निगरानी तथा प्रतिकार्य प्रणालीसमेत सुदृढ बनाउनुपर्ने उहाँको भनाइ छ ।

नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकालाई मुखबाट खुवाइने र सुईमार्फत दिइने दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ । पोलियोमुक्त अवस्था कायम राख्न नियमित खोप, प्रभावकारी निगरानी र समयमै प्रतिकार्य आवश्यक रहेको उहाँको सन्देश राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया