एनपिएल : बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

  कार्तिक ०७, २०८३

काठमाडौँ, ६ कात्तिक : बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

लुम्बिनी लायन्सले आज शमीमलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । टोलीले आफ्नो फेसबुक पेजमा शमीम आधिकारिक रूपमा लायन्सको सदस्य बनेको उल्लेख गर्दै अब मैदानमा खेलमार्फत जवाफ दिने समय आएको जनाएको छ ।

बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने शमीम आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । उनी सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्ने बङ्गलादेशी टोलीका सदस्य थिए ।

विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउने अवसर पाए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए ।

उनले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरेका थिए । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए ।

उनले हालसम्म विदेशी लिग खेलेका छैनन् । एनपिएलमार्फत पहिलोपटक विदेशी लिग खेल्ने तयारीमा रहेका शमीमका लागि यो नयाँ अनुभव हुनेछ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुन गइरहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया