बेङ्गलुरु (भारत), ३ कात्तिक : भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन् । उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्या समेटेका छन् ।
र्यापर कालीले आफ्नो बाल्यकालमा सार्वजनिक धाराबाट पानी भर्न करिब १० मिनेट हिँड्नुपरेको अनुभवलाई ‘नीर कोडु’ अर्थात् ‘पानी दिनुहोस्’ गीतमा उतार्नुभएको छ । यो गीत भारतको पहिलो बहुभाषिक जलवायु सङ्कटसम्बन्धी र्याप एल्बम भनिएको ‘क्लाइमेट इमर्जेन्सी मिक्सटेप’ मा समावेश छ ।
भारतको बेङ्गलुरुमा गर्मीमा भूमिगत पानीका कुवा सुक्ने र अन्यत्रबाट ल्याइएको महँगो पानी किन्नुपर्ने समस्या छ । बढ्दो तापक्रम र बदलिँदो मौसमले पानीको सङ्कट थप गम्भीर बनाउन सक्ने जोखिम छ । भारतका विभिन्न क्षेत्रमा खडेरी, बाढी र पहिरोजस्ता जलवायुजन्य विपद् पनि देखिएका छन् ।
एल्बमका सहयोगी ब्रिकेश सिंहले जलवायु सङ्कटका कथा प्रभावित समुदायसम्म पुर्याउन सङ्गीत प्रभावकारी माध्यम भएको बताउनुभयो ।
तमिलनाडुको महिला र्याप समूह ‘सोलिसाई सिस्टास’ की सदस्य अबिसाले पनि ‘वेप्पा मराथाडिला’ अर्थात् ‘निमको रूखमुनि’ गीतमा पानीको अभाव र जलवायु परिवर्तनको प्रभाव समेट्नुभएको छ । आठ वर्षको उमेरमा घरमै सहजै पानी पाउने गरेको सम्झना सुनाउँदै उहाँले दुई वर्षपछि आफ्नो क्षेत्रमा पानीको अभाव सुरु भएको बताउनुभयो ।
समुदायमा जलवायु परिवर्तनबारे पर्याप्त चर्चा नभएकाले गीतमार्फत मानिसलाई यसको जोखिम बुझाउन चाहेको अबिसाले बताउनुभयो । कालीले पनि अन्य कलाकारलाई सामान्य विषयभन्दा जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण मुद्दामा गीत सिर्जना गर्न आग्रह गर्नुभएको छ । (रासस/एएफपी)






