फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ

  ३ घण्टा अगाडि

पेरिस, १ कात्तिक : फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताउनुभएको छ ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताउनुभयो । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममायी घटना भएका हुन्।

यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए ।

गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटका लागि ‘हजारौँ अति–वामपन्थी’व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

उहाँका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएका छन् ।

प्रदर्शनका क्रममा करिब ५०० प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिनुभयो । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो ।

फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरूका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने सङ्केत गर्नुभएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया