दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

  ३ घण्टा अगाडि

महेन्द्रनगर, २७ असोज : कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ । काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देक अधिकारीले आफूहरुले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिनुभयो । टोलीले रु सात करोड बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ । उहाँले पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने बताउनुभयो ।

“सात करोड बराबरको क्षति भएको छ । पुनःनिर्माणमा बीस करोड लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो ।” उपमहानिर्देशक अधिकारीले भन्नुभयो, “योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ ।” उहाँले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनःनिर्माण थालनी गर्न सकिने बताउनुभयो । “पानी सुकेपछि मात्रै सोयल टेष्ट हुने हो”, उहाँले भन्नुभयो, “त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ ।”

उहाँले बजेट व्यवस्थापन भए पुनःनिर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताउनुभयो । अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको प्राविधिक टोलीको भनाइ छ ।

झोलुङ्गे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चादँनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन । यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि एक करोड बजेट विनियोजन गरेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया