महेन्द्रनगर, २५ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ ।
फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधि जितेको हो । बम र जैसीको जोडीले ऐर र जोशीको जोडीलाई २१-१७ र दोस्रो सेटमा २१-१५ ले पराजित गरेको छ । उपाधि विजेता जोडी रु ४० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । भने उपविजेता टिमले रु २० हजार नगदसहित पुरस्कृत भएको छ ।
दसैँ र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ ।
प्रतियोगितामा सिंह र डम्बर कुवँरको जोडीले तेजबहादुर साउद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ । सिंह र कुवँरको जोडीले २१-१४ र २१-१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजित गरेको शुक्लाफाँटा व्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो ।
निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधि जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएका छन् । भने उपविजेता साउद र जोशीको जोडी रु १५ हजार नगदसहित पुरस्कृत भएको छ ।
प्रतियोगितामा उपाधि विजेता, उपविजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा प्रदेश खुला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ समूह सहभागी रहेको राससले जनाएको छ ।






