जापानको ओसाकामा पर्वका क्रममा रथ पल्टिँदा दुईको मृत्यु, १६ जना घाइते

  ६ घण्टा अगाडि

टोकियो, २५ असोज : जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय एक पुरुष आफू सवार रहेको रथ पल्टिँदा त्यसको तल च्यापिएका थिए ।

उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । इजुमिओत्सु सहरमा भएको अर्को दुर्घटनामा रथ पल्टिँदा त्यसको तल च्यापिएका ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ । प्रिफेक्चरल प्रहरीले उक्त घटनामा अन्य नौ जना घाइते भएको जनाएको छ ।

प्रहरीका अनुसार, दुवै दुर्घटना पर्वको प्रमुख आकर्षण मानिने ‘यारिमावाशी’का क्रममा भएको आशंका गरिएको छ । यस परम्परामा सहभागीले ‘दान्जिरी’ नामक परम्परागत रथलाई तीव्र गतिमा तानेर सडकका मोडमा घुमाउँछन् । तीव्र गतिमा रथ मोड्ने क्रममा त्यसमा सवार व्यक्तिले सन्तुलन गुमाउँदा दुर्घटना हुन सक्ने प्रहरीले जनाएको छ । दुवै दुर्घटनाको कारण र परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया