आज श्रीकृष्ण जन्माष्टमी पर्व, राष्ट्रपतिबाट शुभकामना व्यक्त

  साउन २७, २०७७

काठमाडौँ, साउन २७ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ । 

राष्ट्रपतिबाट शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामीबीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना प्रकट गर्दछु ।’ ‘द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ’’ राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ ।

यसैबीच भाद्र कृष्ण अष्टमीका दिन आज भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । कोरानो भाइरस (कोभिड–१९) को प्रभाव बढिरहेका बेला सचेत भएर कृष्णाष्टमी मनाइँदै छ ।

‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ । भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई उहाँका भक्तजनले आजसम्म अल्हादित हुँदै संस्मरण गर्दै आएका छन् । कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएका छन् ।

पाटनको कृष्ण मन्दिर, मकवानपुर भैँसेको कृष्ण मन्दिर, मातातीर्थ, हनुमानढोका दरबार परिसर गोठाटारको कृष्ण मन्दिर लगायतका सबै कृष्ण मन्दिरमा यो दिन पूजन हुने भए पनि कोरोनाको बढ्दो प्रभावले घरमै बसेर कृष्णको अर्चना गर्नुु उपयुुक्त हुने पण्डित हरिहर उपाध्याय बताउनुहुन्छ ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार राजगुठी अन्तर्गतका सबै कृष्ण मन्दिरमा भीडभाड गर्न नदिएर पुजारीले नित्य पूजा गर्नुपर्ने भनिएको छ । आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महìव रहेको शास्त्रमा वर्णित छ ।

तपाईको प्रतिक्रिया