रित्तिँदै गोठ, गुम्दै आम्दानीका स्रोत

  ३ घण्टा अगाडि

पाँचथर, २५ भदौ : रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका-मेहेलबोटेका कतिपय स्थानीयका गोठ रित्तिएका छन् । दूध दिँदै गरेका पशुचौपाया मरेपछि आम्दानीको स्रोत पनि बन्द हुन थालेको छ ।

मेहेलबोटेकी लीलादेवी दाहाल रिजालले नजिकैको डेरी उद्योगबाट ऋण लिएर गाई खरिद गर्नुभएको थियो । उत्पादित दूध सोही डेरी उद्योगमा बिक्री गरेर ऋणको साँवा र ब्याज क्रमशः घटाउने सर्तमा उहाँले गाईपालन सुरु गर्नुभएको थियो । एक वर्ष दूध बिक्री गरेपछि रिजालको परिवारले अब करिब रु १५ हजार डेरी उद्योगलाई तिर्न बाँकी थियो । तर गोठमा बाँधिराखेको गाईलाई गत असार २३ गते रेविज सङ्क्रमित कुकुरले टोकेपछि २३ दिनपछि गाई मर्‍यो ।

डेरीको ऋण चुक्ता गर्न नपाउँदै गाई मरेपछि रिजालको परिवार अहिले आर्थिक समस्यामा परेको छ । “बाँकी ऋण तिर्न सक्ने अवस्था छैन । अर्को गाई खरिद गर्ने सम्भावना पनि छैन”, रिजालले भन्नुभयो, “गाई मरेपछि पालिकामा एउटा फारम भरेर पठाएका छौँ । पालिकाले के कति दिने हो ? दियो भने किन्नुपर्ला ।” उहाँको परिवारले पालेको उन्नत प्रजातिको गाईबाट दैनिक १२ लिटर दूध बिक्री हुन्थ्यो । गाई मरेपछि गोठ रित्तिएको छ भने आम्दानीको बाटो बन्द भएको उहाँको भनाइ छ ।

यहाँ रिजाल परिवारको मात्रै होइन, छिमेकी कल्पना सेर्मा लिम्बू र यमुना महराको गोठका पनि गाईवस्तु मरेपछि रित्तिएको छ । सेर्माको घर अगाडि रहेको गोठमा बाँधिएका गाई र भैँसीलाई असार २३ गते बिहान रेविज सङ्क्रमित कुकुरले टोकेपछि साउन १३ गते भैँसी र साउन १६ गते गाई मरेको थियो । दुहुनो भैँसी र ब्याउन लागेको गाई मरेपछि करिब रु तीन लाख घाटा लागेको सेर्माले बताउनुभयो । “हामीले पशु बिमा गरेका थिएनौँ । मेरो गाईभैँसी मर्दा करिब रु तीन लाख घाटा भयो”, उहाँले भन्नुभयो, “कागजपत्र वडाको माध्यबाट गाउँपालिकामा पेस गरेका छौँ । राहत पाउने कि नपाउने केही थाहा भएन ।”

सेर्माका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । उहाँको घर खर्च चलाउने, छोराछोरी पढाउने माध्यम दूध बिक्री थियो । “आम्दानीको बाटो दूध बिक्री गरेर आउने रकमबाट हुन्थ्यो । मासिक रु १५ हजारसम्म आम्दानी गरेर घर खर्च चलाउँथे । अब त्यो पनि टुङ्गियो”, सेर्माले भन्नुभयो, “अहिले गोठ नै खाली भयो । कहाँ कसले छाडा छोडेको कुकुरले हाम्रा पशुचौपायालाई टेकेपछि रेविज सङ्क्रमण फैलियो ।”

रेविजको सङ्क्रमण भई गाईवस्तु मरेपछि परिवारका सबैले रेविजविरुद्धको खोप लगाउँदा रु ४१ हजार खर्च भएको सेर्माले जानकारी दिनुभयो । “खोप लगाउन पनि हामले व्यक्तिगत रूपमै लगानी गर्नुपर्ने रहेछ । रेविज सङ्क्रमणको डर भएपछि परिवारका सबैले खोप लगायौँ”, उहाँले भन्नुभयो ।

सेर्माका छिमेकी यमुना महरालाई पशु बिमा गरेको भए हुने रहेछ भन्ने अहिले ज्ञान भएको छ । “गाईवस्तु मरेपछि मात्रै बिमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान भयो । अहिलेसम्म यस्तो भएको थिएन”, उहाँले भन्नुभयो, “मेरो पनि एउटा गाई मर्‍यो । कुकुरले टोकेको १८ दिनपछि गाईमा रेविजको लक्षण देखिएको थियो ।”

रेविज रोगको सङ्क्रमण भएका कुकुरको टोकाइबाट पाँचथरमा पछिल्ला केही महिनामा मात्रै ३८ वटा पशुचौपाया मरिसकेका छन । तीमध्ये सबैभन्दा बढी फाल्गुनन्द गाउँपालिका-६ मेहेलबोटे क्षेत्रका रहेका जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । मेहेलबोटेका खोमनाथ रिजालका अनुसार रेविज सङ्क्रमित कुकुरले गत असार २३ गते एकै बिहान दर्जनौं गाईवस्तु र मानिसलाई टोकेपछि केही समय स्थिति भयावह बनेको थियो ।

पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख निरजकुमार भट्टराईका अनुसार प्रदेश सरकारका सरोकार भएका निकायबाट क्षतिपूर्ति दिने व्यवस्था भएको छैन । “पशुपालकहरूले ठूलो क्षति ब्यहोर्नु परेको भनेर हामीले पहल गरिरहेका छौँ । तर, नीतिगत हिसाबले राहत वा क्षतिपूर्ति दिने व्यवस्था नहुँदा किसान मर्कामा परेका छन्”, उहाँले भन्नुभयो ।

फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले रेविज सङ्क्रमणका कारण मरेका पशुचौपाया पालक किसानहरूका लागि सकेसम्म राहत दिने योजना बनाइएको बताउनुभयो । “राहत उपलब्ध गराउन सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारबाट प्राप्त नभएपनि गाउँपालिकाले केही राहत उपलब्ध गराउने योजना धने बनाएको छ ।” गाउँपालिकामा आर्थिक कारोबार सुरु भएपछि राहतको प्रक्रिया थालिने उहाँले उल्लेख गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया