बेइजिङ, २२ भदौ : चीनकी किशोर बास्केटबल खेलाडी झाङ जियुको उचाइ २२३ सेन्टिमिटर (सात फिट चार इन्च) छ । महिला विश्वकपमा उनी आफ्ना अधिकांश प्रतिद्वन्द्वीभन्दा निकै अग्ली देखिन्छिन्, तर मैदानबाहिर भने उनी ‘एउटी सानी केटी’ मात्र भएको उनकी सहकर्मी हान सु बताउँछिन् ।
जर्मनीमा आइतबार चेक गणतन्त्रविरुद्ध चीनले अतिरिक्त समयमा ७४–७० को जित निकालेपछि हानले १९ वर्षीया झाङबारे यस्तो टिप्पणी गरेकी हुन् ।
बलियो शारीरिक बनावट भएको चेक टोलीविरुद्ध झाङले दश मिनेटभन्दा केही बढी समय मैदानमा बिताउँदै तीन अङ्क जोडिन् । यसअघि प्रतियोगिताको सुरुआती खेलमा साविक विजेता अमेरिकासँग चीन ९४–६१ ले पराजित हुँदा झाङले अमेरिकी टोलीलाई थप चुनौती दिएकी थिइन् ।
त्यस खेलपछि अमेरिकी सुपरस्टार केटलिन क्लार्कले झाङको प्रशंसा गर्दै आफूले यति अग्ली महिला खेलाडीविरुद्ध यसअघि कहिल्यै नखेलेको बताइन् ।
“मैले यति ठूलो कदकी महिला खेलाडीविरुद्ध कहिल्यै खेलेकी थिइनँ । उनले हाम्रा लागि केही चुनौती पक्कै खडा गरिन्”, क्लार्कले भनिन् । “मलाई लाग्छ, उनी उत्कृष्ट खेलाडी हुन् र उनी अझै निकै कम उमेरकी छिन् ।”
क्लार्कका अनुसार झाङ अझै आफ्नो खेल विकास गर्ने चरणमा छिन् र आफ्नो उचाइको अधिकतम फाइदा कसरी उठाउने भन्ने सिक्दैछिन् ।
“जब उनी बास्केटको एकदमै नजिक पुग्छिन्, उनलाई रोक्न खासै केही गर्न सकिँदैन”, उनले भनिन् ।
विश्व बास्केटबलको नियामक निकाय एफआईबीएको वेबसाइटमा झाङको उचाइ २२३ सेन्टिमिटर उल्लेख छ । यसले उनलाई एनबीएका महान् खेलाडी शकिल ओनिलभन्दा समेत अग्ली बनाउँछ ।
झाङको भविष्य महिला राष्ट्रिय बास्केटबल सङ्घमा हुन सक्ने चर्चा भइरहे पनि क्लार्क र हान दुवैले उनीमाथि अहिले नै अत्यधिक अपेक्षा नराख्न सुझाव दिएका छन् ।
“वास्तविक जीवनमा उनी एउटी सानी केटी मात्र हुन्”, हानले भनिन् । चेक गणतन्त्रविरुद्धको खेलमा चीनका लागि सर्वाधिक २२ अङ्क जोडेकी हानले झाङलाई सकारात्मक ऊर्जा दिन आफूले सधैं प्रयास गर्ने बताइन् ।
“उनी बास्केटसम्म पुगेर स्कोर गर्न र ‘पेन्ट’ अर्थात् बास्केटमुनिको क्षेत्रको रक्षा गर्न सक्षम छिन्”, हानले भनिन् । “उनी उत्कृष्ट खेलाडी हुन् । हामी उनको क्षमतालाई अझ प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने र उनलाई थप आक्रामक कसरी बनाउने भन्नेबारे सोचिरहेका छौ ।”
महिला बास्केटबल विश्वकपको आधिकारिक वेबसाइटले झाङलाई असाधारण रूपमा अग्ली खेलाडीका रूपमा वर्णन गरेको छ । उनी दुई वर्षअघि यू–१८ महिला एसिया कपमा सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भएपछि पहिलोपटक अन्तरराष्ट्रिय चर्चामा आएकी थिइन् ।
प्रतिद्वन्द्वी खेलाडीभन्दा निकै अग्ली देखिने झाङका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर क्लार्कका अनुसार उनको विशेषता उचाइमा मात्र सीमित छैन ।
“उनी अझै निकै कम उमेरकी खेलाडी हुन् । यति सानो उमेरमै विश्वकप खेल्नु र विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुले उनलाई निरन्तर सुधार गर्न मद्दत गर्नेछ”, क्लार्कले भनिन् ।
“यदि उनले आफ्नो खेलमा निरन्तर सुधार गर्दै गइन् भने, मलाई लाग्छ उनको भविष्य पक्कै उज्ज्वल छ ।” (रासस/एएफपी)






