अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन इरानको चेतावनी

  ३ घण्टा अगाडि

तेहरान, ७ भदौ : इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकलाई इरान विरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी अभियानमा साथ दिने मुलुकलाई तेहरानले ‘शत्रु’का रूपमा व्यवहार गर्ने बताउनुभएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सरकारी प्रसारक आईआरआईबी टिभीसँगको अन्तर्वार्तामा इरानले सुरुमा सम्बन्धित मुलुकसँग वार्ता गरी अमेरिकाले सञ्चालन गरेको भनिएको ‘आर्थिक युद्ध’मा सहभागी नहुन आग्रह गर्ने बताउनुभयो । ती मुलुकले अमेरिकी अभियानलाई समर्थन गरिरहेमा इरानले उनीहरूको हितविरुद्ध कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

क्षेत्रीय मुलुकले अमेरिकी दबाब अभियानलाई समर्थन गरेमा होर्मुज जलसन्धि र फारसी खाडी हुँदै हुने तेल निर्यात रोक्ने उहाँले बताउनुभयो । रेजाईले जुनमा तेहरान र वासिङ्टनबिच भएको समझदारी पत्र (एमओयू) अन्तर्गत अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलसन्धि बन्द रहने दाबीसमेत गर्नुभयो ।

उहाँको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई सहयोग गर्ने कुनै पनि मुलुकविरुद्ध ‘हालसम्मकै कठोर आर्थिक कारबाही’ गर्ने घोषणा गरेपछि आएको हो । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा यस्तो कारबाही ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्ल्याउने प्रयास’ हुने बताउनुभएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया