युक्रेन, ६ भदौ : युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार सपिङ सेन्टरमा भएको घातक आक्रमणको एक दिनपछि पुनःआक्रमण भएको हो ।
किएभको सैन्य प्रशासनले ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेको केहि समयपछि राजधानीको डार्निट्स्की जिल्लाको गोदाममा आगलागी भएको रिपोर्ट गरेको छ । प्रारम्भिक जानकारीअनुसार, आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको प्रशासनले जनाएको छ ।
क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी शहर जापोरिझियामा भएको रूसी ड्रोन आक्रमणका कारण एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिवी रिहको व्यस्त सपिङ सेन्टरमा भएको ड्रोन आक्रमणमा १६ जनासहित शुक्रबार भएको शृखलाबद्ध रूसी बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ ।
क्षेत्रीय सैन्य गभर्नर ओलेक्सान्डर गान्जाका अनुसार रातभरि उद्धार कार्य जारी रहेको थियो भने दुई बच्चासहित नौ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ । आक्रमणमा २३ बालबालिका सहित १३० जना घाइते भएको उद्धार तथा राहत सेवाले जनाएको छ । यस वर्ष आक्रमणमा उच्च सङ्ख्यामा नागरिकको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
युक्रेनी सेनाले ब्यालिस्टिक मिसाइल रोक्न सङ्घर्ष गरिरहेको समयमा रूसले आफ्नो आक्रमण बढाउँदा किएभले आफ्ना सहयोगीलाई थप समर्थनका लागि बारम्बार अपिल गरेको छ । दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न वार्ताको टेबलमा आउन मस्कोलाई दबाब दिन युक्रेनले हालैका महिनामा रूस माथि प्रतिशोधात्मक आक्रमण बढाएको छ । (रासस/एएफपी)






