बेइजिङ, ३ भदौ : चीनले पहिलो पटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ । राज्य सञ्चार माध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक-३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काइएको हो ।
यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो चरण पुनः प्राप्त गरेको थियो । त्यसैले भूमिमा गरिएको बुधबारको सफलता चीनले रकेट चरण पुनः प्राप्त गरेको दोस्रो अवसर हो भने भूमिमा गरिएको पहिलो सफल परीक्षण हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक-३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो । त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षितरूपमा अवतरण गरेको हो ।
यस क्रममा पहिलो पटक तैनाथ गर्न सकिने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ । चीनले यसलाई पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिमा महत्त्वपूर्ण सफलता मानेको छ । रकेटको प्रयोगपछि पहिलो चरणलाई पुनः प्राप्त गरी फेरि प्रयोग गर्न सकिने प्रविधिले प्रक्षेपणको लागत घटाउन सहयोग गर्छ ।
यस क्षेत्रमा अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेट पुनः प्राप्तिको प्रविधि प्रयोग गर्दै आएका छन् । उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाएपछि रकेटलाई फ्याँक्नु पर्ने अवस्थाको अन्त्य गर्दै एउटै हार्डवेयर पुनः प्रयोग गर्न सकिने भएकाले अन्तरिक्ष प्रक्षेपण सस्तो बनाउन यस्तो प्रविधि महत्त्वपूर्ण मानिन्छ ।
चीनले गत जुलाई १० मा ‘लङ मार्च-१०बी’ रकेटको पहिलो चरण पनि सफलतापूर्वक पुनः प्राप्त गरेको थियो । प्रक्षेपणपछि पहिलो चरण दोस्रो चरणबाट अलग भएर समुद्री प्लेटफर्ममा फर्किएको थियो । त्यस बेला रकेटलाई जालोमा समात्ने ‘नेट-क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो । चीनसँगै जापानले पनि पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिमा लगानी बढाइरहेको छ ।
जुलाई ११ मा जापानले प्रयोगात्मक पुनः प्रयोग योग्य रकेटको पहिलो परीक्षण उडान गरेको थियो । उक्त रकेट उडान भरेपछि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो । दुवै देशले प्रक्षेपण लागत घटाउँदै विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकासलाई प्राथमिकता दिएका छन् । (रासस/एपी)






