जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

  ३ घण्टा अगाडि

सिड्नी, २ भदौ : जापानले अस्ट्रेलियाको भूमिमा हाइपरसोनिक तथा अन्य लामो दूरीका मिसाइल परीक्षण गर्ने तयारी गरेको छ । बढ्दो क्षेत्रीय सुरक्षा चुनौतीबिच जापान र अस्ट्रेलियाले रक्षा सहकार्य थप विस्तार गर्ने सहमति गरेसँगै यस्तो परीक्षणको तयारी अघि बढाइएको हो ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार क्यानबेरामा भएको भेटवार्तापछि अस्ट्रेलियाली सैन्य परीक्षण क्षेत्रमा जापानी मिसाइल परीक्षणका लागि व्यवस्था मिलाउने बताउनुभएको हो । मन्त्री मार्लेसले आगामी दशकमा जापानलाई अस्ट्रेलियाका मिसाइल परीक्षण क्षेत्र प्रयोग गर्न सहज हुने गरी दुवै देशबिच थप व्यवस्थित र उन्नत सहकार्य विकास गरिने बताउनुभयो ।

उहाँले अस्ट्रेलियाले जापानलाई विभिन्न क्षेत्रमा रणनीतिक गहिराइ प्रदान गर्न सक्ने र त्यसमा अस्ट्रेलियाली परीक्षण क्षेत्रको प्रयोग पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । जापानी मन्त्री कोइजुमीले अस्ट्रेलियामा जापानको सेल्फ डिफेन्स फोर्सले हाइपरसोनिकलगायत लामो दूरीका स्ट्यान्डअफ मिसाइल परीक्षण गर्न सके त्यसलाई अभूतपूर्व विकासका रूपमा लिइने बताउनुभयो ।

उहाँले यस्तो परीक्षण सम्भव बनाउने उद्देश्यले दुई देशबिचको छलफललाई तीव्रता दिने बताउनुभयो । जापान र अस्ट्रेलियाले चीनको बढ्दो सैन्य प्रभावलाई ध्यानमा राख्दै पछिल्ला वर्षमा रक्षा सहकार्य विस्तार गर्दै आएका छन् । अमेरिकाले पनि आफ्ना क्षेत्रीय सहयोगी राष्ट्रलाई रक्षा खर्च बढाउन र सैन्य क्षमता सुदृढ गर्न आग्रह गर्दै आएको छ ।

दुई देशले गत वर्ष दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा ठूलो रक्षा निर्यात सम्झौतामा सहमति गरेका थिए । सम्झौता अनुसार अस्ट्रेलियाले आगामी १० वर्षमा जापानबाट स्टिल्थ फ्रिगेटको बेडा प्राप्त गर्न करिब १० अर्ब अस्ट्रेलियाली डलर खर्च गर्ने छ । मङ्गलबार दुवै रक्षामन्त्रीले नयाँ रक्षा सहकार्य परियोजनामा समेत सहमति जनाउनुभएको छ ।

अँध्यारोमा समेत शिकार गर्न सक्ने अस्ट्रेलियाली उल्लूको नामबाट ‘बुबुक’ नाम दिइएको परियोजना अन्तर्गत सम्भावित खतरा पहिचान तथा सामना गर्न सह–विकसित लेजर प्रणालीको विकास गरिने छ । मन्त्री मार्लेसका अनुसार परियोजनामा उन्नत लेजर प्रविधि विकास गरिने छ र यसलाई स्थल युद्धका सैन्य प्लेटफर्म तथा तटीय क्षेत्रमा प्रयोग गर्न सकिने छ ।

हाइपरसोनिक मिसाइल परीक्षण तथा उन्नत लेजर प्रविधिमा सहकार्यले जापान र अस्ट्रेलियाबिचको रक्षा सम्बन्धलाई परम्परागत सैन्य अभ्यास र हतियार खरिदभन्दा अघि बढाउँदै संयुक्त अनुसन्धान, परीक्षण र प्रविधि विकासतर्फ लैजाने सङ्केत गरेको छ । चीनको बढ्दो सैन्य गतिविधि र इन्डो-प्यासिफिक क्षेत्रमा सुरक्षा चुनौती बढिरहेका बेला दुई देशले आफ्नो रक्षा क्षमतालाई थप सुदृढ गर्न यस्तो सहकार्य अघि बढाएका हुन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया